विकासले छुन नसकेको फोक्सा स्लामपुरमा नगरप्रमुखको पाईला परेन !

विराटनगर । बाटोको समस्या छ, ढल निकासको समस्या छ यहाँका हामी स्थानीय बासिन्दालाई धेरै कुराको समस्या छ विराटनगर महानगरपालिकाका १८ फोक्सा स्लामपुरका लिलानन्द मण्डलले एक स्वासमा गुनासो पोको फुकाँउदै भने, ‘हामीले भोट जिताएर पठाएको वडाध्यक्ष कारबाहीमा परेको छ, जितेर हिँडेपछि एक चोटी पनि गाँउलेको समस्या बुझन फर्केर आएन ।’
नेपाल–भारत सिमा क्षेत्रमा रहेको फोक्सा स्लामपुर विराटनगर महानगरपालिका १८ मा पर्छ । नहर पारी भारत पर्छ भने वारीपट्टी नेपालको फोक्सा स्लामपुर पर्दछ । विराटनगरको विभिन्न स्थानबाट बग्दै, भारतको जोगबनीबाट बगेर आउने ढल फोक्सा स्लामपुरको नहर हुँदै बग्ने गर्दछ । ढल निकासाको व्यवस्थापन नभएकाले दुर्गन्धको सास्ती खेप्न त आदत नै भैसकेको मण्डलले सुनाए ।
मंगलबार स्लामपुर फोक्सेमा भेटिएका मण्डलले भने बर्खा लाग्यो अब नहरको पानी बढेर घर भित्र नै पस्छ, यो सास्ती त यहाँको बासिन्दाले वर्षेनी खोप्नुपर्ने हुन्छ । उनी थप्छन्, ‘अहिले विश्वमा फैलिएको कोरोना भाइरस हामीलाई पनि थाहा छ, तर यस्तो फोहोरबाट कसरी रोगको नियन्त्रण हुन्छ ।’ उनले धेरै चोटी वडा कार्यालयमा गएर गाँउलेले भोगेका समस्या बताएको भएपनि जनप्रतिनिधिले वेवास्ता गरेको गुनासो गरे ।
सोही स्थानमा पञ्चायतकालदेखि अर्काको भूमिमा बस्दै आएका भूमीहिनहरुको नागरिकता भएपनि चर्पीको व्यवस्था छैन । आफू नेपालको नागरिकता भएपनि जमिनदार (जग्गा धनी)ले चर्पी बनाउनका लागि जमिन नदिएकाले बाहिर नै दिसा पिसा गर्ने गरेको उनीहरुको गुनासो छ । बर्खाको समय धेरै जस्तो सर्पको त्रास सर्पको डसाईबाट वर्सेनी अकालमा ज्यान गुमाउनु पर्ने पिडा रहेको मण्डलले बताए ।
आजसम्म नगरप्रमुको पाईला परेन
विराटनगर महानगरपालिकाभित्र नै पर्ने फोक्सा स्लामपुरमा आजसम्म विराटनगर महानगरपालिकाका नगर प्रमुखको पाइला नपरेको स्थानिय युवा सोनु मण्डलले बताए । ‘नत विकासका लागि महानगरको आँखा सो क्षेत्रमा नै परेको,’ उनले गुनासो पोखे ।
‘निर्वाचन आउने समय नेताहरु आश्वाशन ठूलाठूला गफ लिएर आए पनि निर्वाचन जिते पछि एक पटक पनि यहाँका बासिन्दा कसरी बाँचिरहेका छन् वास्ता गर्दैनन्,’ उनले भने । जोगमनीसँग जोडिएको ठाँउ भएकाले सो स्थानका अधिकांश मानिसहरु जोगमनीका विभिन्न पसलमा काम गरेर घरखर्च चलाउने गरेको उनले बताए ।
लामो समयको बन्दाबन्दीको कारण कामइ बन्द भएसँगै दैनिकी समस्यामा पर्दा वडाले एक चोटि राहत वितरण गरेको उनले सुनाए । उनी भन्छन् ‘राहत पनि भोट बैंक जस्तै महसुस भयो, यहाँ असली गरिबले भन्दा पनि जनप्रतिनिधिका आफ्नाले पाए ।’ विकासले छुन नसकेका विकट सो वस्तीको समृद्धि आकाशको फल आँखातरी मर भने झैँ भएको छ ।









