सरकारविरुद्ध प्रदर्शन गर्ने ५ विदेशी नागरिकलाई दुई वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरिने : अध्यागमन

काठमाडौँ । सरकारविरुद्ध प्रदर्शन गर्ने ५ विदेशी नागरिकलाई दुई वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरिने भएको छ । अध्यागमन विभागले सरकारविरुद्ध प्रदर्शन गर्ने विदेशी नागरिकलाई अन्तर्राष्ट्रिय उडान खुलेपछि २ वर्षका लागि नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने भएको हो ।

विभागका महानिर्देशक रमेश केसीका अनुसार लकडाउन खुले लगत्तै उनीहरूलाई नियन्त्रणमा लिएर निष्कासन गरिने जानकारी दिए ।

सरकार विरुद्धको प्रदर्शनमा ६ जना विदेशी नागरिक पक्राउ परेका थिए । उनीहरूमध्ये एक नेपाली नागरिकसँग विवाह गरी वैवाहिक भिसा लिएका कारण उनलाई भने जरिवाना मात्रै गरिएको विभागले जनाएको छ । अन्यलाई भने निष्कासन गरिने छ ।

विभागका अनुसार सरकारविरुद्ध जेठ ३१ गते गरिएको प्रदर्शनमा तीन जना चिनियाँ नागरिक ‘ईई–१७६४४१०’ राहदानी वाहक ४० वर्षीय महिला क्वीन लि, ‘ई–०६३६१०३६’ राहदानी वाहक २६ वर्षीय लिउ सु र ‘ई–१७३५४८९३’राहदानी वाहक ३० वर्षीय यानन जिया, अस्ट्रेलियन नागरिक ‘सी–४–एन–१२१–जेडजेएम’ राहदानी वाहक २४ वर्षीय कलानी गाकोन, ‘५६१२७२२२२’ राहदानी वाहक ३२ वर्षीय अमेरिकी नागरिक स्टेफनी एनथमसन र ‘३४१३४०१४’ राहदानी बाहक ३१ वर्षीय नर्वेजियन महिला मरिता लिभरोद प्लेकार्डसहित प्रदर्शनमा सहभागी थिए ।

पक्राउ परेकामध्ये नर्वेजियन नागरिक मरिता लिभरोदलाई ५ हजार जरिवाना मात्रै गराइएको विभागले जनाएको छ । अन्य ५ जनामध्ये तीन चिनियाँ र एक अमेरिकी नागरिकलाई १० हजार जरिवाना र २ वर्ष नेपाल प्रवेशमा रोक लगाइएको छ । अस्ट्रेलियन नागरिक कलानी गाकोनलाई भने २ वर्ष नेपाल प्रवेश गर्न रोक लगाउनुका साथै २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।

नेपालमा विदेशी नागरिकलाई कुनै पनि किसिमको राजनीतिक अधिकार नभएका कारण उनीहरूलाई यस्तो सजाय दिइएको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *