अत्याधुनिक सिटि स्क्यान मेसिन खरिद गर्दै वीपी प्रतिष्ठान

काठमाडौं । नेपालको पूर्वी क्षेत्रको रिफरल केन्द्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि आवश्यक सिटि स्क्यान मेसिन खरिद गर्ने प्रक्रिया सुरु भएको छ । प्रतिष्ठानमा रहेको सिटि स्क्यान मेसिन बर्षौं देखि बिग्रिएको अवस्थामा नयाँ उपकुलपति नियुक्ति सँगै आधुनिक सिटि स्क्यान मेसिन उपकरण खरिद प्रक्रिया शुरु भएको हो ।

आर्थिक बर्ष समाप्त हुँनै लाग्दा प्रतिष्ठानको पहललाई सकारात्मक लिँदै स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयद्वारा रकमान्तर गरिएको २० करोड बजेटसँगै प्रतिष्ठानले अत्याधुनिक उच्च क्षमताको २५६ स्लाइस सिटि स्क्यान मेसिन खरिद प्रक्रिया सुरु गरेको हो ।

अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा बिरामीहरु चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा धाउन बाध्य रहेका थिए । वीपी प्रतिष्ठानमा सिटी स्क्यान मेसिन नहुँदा प्रतिष्ठानमा उपचारार्थ आउने विरामीहरु विराटनगर, काठमाडौं धाउनुपर्ने बाध्यता रहेको छ ।

२५६ स्लाइसकाे अत्याधुनिक सिटी स्क्यान उपकरण, तस्विरः एजेन्सी

निजी अस्पतालहरुमा सिटी स्क्यान गरेको ८ हजारदेखि १८ हजार रुपैयाँसम्म तिर्नुपर्छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै यो सेवा अत्याधुनिक उपकरणबाट पुनः सुरु भए बिरामीले निजी अस्पतालमा भन्दा प्रतिष्ठानमा आधा मूल्य कममै सेवा पाउने प्रतिष्ठानले बताएको छ ।

प्रतिष्ठानले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवालाई अझ बढी प्रविधिमैत्री, सर्वसुलभ र नमुना अस्पताल बनाउने उद्देश्यका लागि अत्याधुनिक उच्च क्षमताको २५६ स्लाइस सिटि स्क्यान मेसिन खरिद गर्ने प्रक्रिया पहिलो पाईला रहेको प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले बताए । ‘वीपी प्रतिष्ठानलाई अत्याधुनिक सुविधा सम्पन्न अस्पताल बनाउनका लागि नेपाल सरकारको यो सहयोग महत्वपूर्ण हुनेछ ।’ डा. गिरीले भने ।

अस्पतालको सेवा लिनआएका विरामी कुनै पनि सेवावाट बञ्चित हुन नपरोस् भन्ने आफ्नो चाहना अनुरुप छिट्टै एमआरआई मेसिन, लगायत विभिन्न अत्याधुनिक उपकरण खरिद, सेवा विस्तार, ट्रमा सेन्टर, हृदय रोग केन्द्र, प्रत्यारोपण केन्द्र स्थापना लगायतका आफ्ना योजना रहेको उपकुलपति गिरीले जनाए ।

हाल अस्पतालमा रहेको बेड सङ्ख्यालाई आगामी ३ बर्षमा २, ००० सैया बनाई नेपालकै सबैभन्दा ठुलो अस्पतालका साथै काठमाडौँमा उपलब्ध सम्पूर्ण सेवा मोफसलको धरानबाट नै जनताले पाउने कुराको सुनिश्चितता गर्न आफु लागि परेको कुरामा गिरीले जोड दिए । ‘मेरो योजना प्रतिष्ठानलाई नेपालकै सुविधासम्पन्न अस्पताल बनाउने हो ।’ डा. गिरीको भनाई छ ।
बढी स्लाइसको सिटी स्क्यानबाट निदान गर्दा छिटो हुने,“रेडिएसन एक्पोजर कम” हुने र अर्कोतिर यसले स्पष्ट आकृति र तुलनात्मक रुपमा धेरै संख्यामा सेवा दिन सक्ने प्रतिष्ठानको रेडियोलोजी विभागका प्रमुख डा. मुकेश गुप्ताले बताए ।

डा. गुप्ताका अनुसार नयाँ सिटी स्क्यान मेसिन बिरामीको नशा “एन्जिओग्राम”का लागिसमेत उपयोगी र प्रभावकारी हुने र हालसम्म प्रतिष्ठानमा भएका सिटी स्क्यानको तुलनामा यो निकै अत्याधुनिक रहेकाले मष्तिष्कघातलगायत मतिष्कभित्रका अन्य चोट, नसामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा मेसिन उपयोगी हुने छ ।

यसअघि अस्पतालमा १६ स्लाइसको मेसिन उपलब्ध भए पनि बारम्बार बिग्रिएका कारण सेवा अवरुद्ध रहेको अवस्थामा अत्याधुनिक नयाँ सिटी स्क्यान मेसिन खरिद प्रक्रिया सुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *