आज कुवेतबाट आउँदैछन् ३ सय महिला, युएइबाट ल्याउने अनिश्चित

काठमाडाैं । आज कुवेतबाट ३ सय नेपाली स्वदेश फर्किने भएका छन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का अनुसार बिहीबार दुइटा फ्लाइटमा आउनेहरू सबै महिला रहेका छन् ।

एउटा जहाज १ बजे र अर्को ३ बजे आउने भनिएकाे छ । नेपाली नागरिक लिएर आउन लागेका दुवै जहाज कुवेत सरकारले पठाउन लागेको हो। कुवेतबाट २ हजार ९ सय ९१ जनालाई तत्काल उद्धार गर्न जरुरी रहेको सूची परराष्ट्र मन्त्रालयले तयार पारेको छ।

कुवेतबाट आउने महिलाहरू अधिकांश घरेलु कामदारमा गएकाे बताइएकाे छ । उनीहरूलाई ल्याएर राख्ने बारेमा भने अझै व्यवस्थापन भइसकेको छैन।

जानकारी अनुसार कति महिला सुत्केरी, गर्भवती र विभिन्न रोग बाट ग्रसित छन् । उनीहरूलाई कसरी राख्ने भन्नेबारे अहिलेसम्म तयारी भइसकेको छैन । उनीहरू कुवेतबाट बुधबार नै आउने तय भए पनि बिहीबार मात्रै ल्याउन लागिएको हो। यता युएइबाट बिहीबार ल्याउने भनिएका नेपालीहरूका बारेमा भने अझै टुंगो लागिसकेको छैन।

सरकारले कोभिड-१९ का कारण समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भनेको छ। सरकारले विभिन्न १५ वटा प्राथमिकता तोकेर नेपाल आउनेको सूची तयार पार्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो। परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना नियोगहरूबाट उनीहरूको नाम संकलन गरेको छ।

विभिन्न देशमा रहेका ५६ हजारले नेपाल फर्किन चाहेका थिए भने परराष्ट्र मन्त्रालयले २४ हजारलाई सिफारिस गरेको छ। सरकारले ३० मुलुकबाट फर्किन स्वीकृत गरेकामध्ये सबभन्दा बढी मलेसियाबाट ६ हजार ४ सय छन् । लाओसबाट २ जना छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =