हुलास पानीलाई २ लाख जरिवाना

विराटनगर । हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रा.लिले उत्पादन गरेको हुलास पानीलाई कारबाही गरेको छ । विराटनगर १५ रानीमा रहेको हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रा.लिले उत्पादन गर्दै आएको प्रशोधित हुलास पानी बढी मूल्य लिएर विक्री गरेको पाएकाले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा गएको अनुगमन टोलीले कारबाही गरेको हो ।

हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रा.लिले १ लिटरको मिनिरल वाटर होलसेल पसललाई १२.९१ रुपैयाँमा भ्याट विल काटेर विक्री गर्दै आएको छ । सोही पानी उपभोक्तालाई विक्री गर्दा बोतलमा ३० रुपैयाँ मूल्य उल्लेख गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिले गलत एमआरपी उल्लेख गरी अनुचित कार्य गरेको ठहर गर्दै कारवाहीको दायरामा ल्याएसँगै २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

यस अघि प्रशोधित पानी उत्पादन व्यवसायी सङ्घ र जिल्ला प्रशासन कार्यालय मोरङमा तत्कालीन प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद कोइरालाको नेतृत्वमा एक लिटरको मिनिरल वाटरको एमआरपी मूल्य २० रुपैयाँ र प्रतिजार ७० रुपैयाँ भन्दा बढी एमआरपी मूल्य राख्न नपाइने सहमति भएको थियो ।

उक्त सहमतिमा हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिका सञ्चालकको पनि उपस्थिति रहेको थियो । भने उत्पादन लागत मूल्य भन्दा दोब्बर बढी मूल्य राखेर हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिले विक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख तथा निरीक्षण अधिकृत हिमालय बरालले जानकारी दिए ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ मा कुनै पनि निकायले अनुचित व्यवसाय जन्य क्रियाकलाप गर्न नहुने उल्लेख गरिएको छ । अनुगमनको क्रममा अनुचित कार्य गरेको फेला परेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को ‘ङ’ बमोजिम हुलास प्युरिफाइट वाटर इन्डष्ट्रिज प्रालिलाई कारबाही गरिएको कार्यालय प्रमुख बरालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *