संशोधन प्रस्ताव तुरुन्त फिर्ता नलिए सरिता गिरीलाई कारबाही गर्ने पार्टीको चेतावनी

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरिले व्यक्तिगतरुपमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गरिने पार्टीले चेतावनी दिएको छ । समाजवादी पार्टीले एक विज्ञप्ति जारी गर्दै सांसद गिरीलाई संशोधन प्रस्ताव तत्काल फिर्ता लिन निर्दैशन दिँदै फिर्ता नलिए कारबाही गरिने चेतावनी दिएको हो ।

‘संसदीय दलको निर्देशन बिना संशोधन हालेको उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन गरिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘निर्देशन पालना नगरेमा पार्टीले कारबाही गर्न बाध्य हुनेछ ।’

सांसद गिरीले बुधबार नेपालको संविधान (दोस्रो संशोधन)विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी हुन् । संघीय संसद सचिवालयमा दर्ता गराएको उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग गरिएको छ ।

समानुपातिक सांसद गिरीले पछिल्लो समय सीमाको विषयलाई लिएर विवादित बयान दिँदै आएकी छन् । संसद बैठकमा गिरीले भारतलाई नसोधी नेपालले नक्सा जारी गरेकाले त्यसको औचित्य नभएको भन्दै कूटनीतिक शक्तिको आँकलन गरेर अगाडि बढ्नुपर्ने विवादित बयान दिँदै आएकी छन् ।

उनको पार्टी समाजवादीको भने सरकारलाई समर्थन गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *