भारत सरकारको सहयोगमा विद्यालय पुनर्निर्माण

भरतराज शर्मा (गोपाल)/
धरान,सुनसरी । नेपालमा विनाशकारी भूकम्पबाट क्षति भएका विद्यालयहरूको पुनर्निर्माण भारत सरकारले गरिदिने भएको छ ।

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले पूर्ण रूपले क्षति पुर्‍याएका नेपालका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण भारत सरकारले गरिदिने भएको हो ।

गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलान्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा रहेका पूर्ण रूपले क्षतिग्रस्त विद्यालय पुनर्निर्माण भारत सरकारले गरिदिने भएको हो ।

यस सम्बन्धी सम्झौतामा भारतीय राजदूतावास र नेपाल सरकारका शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईबिच सोमबार सात बुँदे सम्झौता गरेको छ ।

नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रमलाई भारत सरकारले विभिन्न चरणमा सहयोग प्रदान गर्दै आएको छ ।

हाल भारत सरकारले २ अर्व ९५ करोड ती ५६ वटा विद्यालय पुनर्निर्माणमा खर्च गर्ने भएको छ ।

भूकम्प प्रतिरोधी क्षमताका लागि ती विद्यालयहरू नेपाल सरकारले तोकेको मापदण्ड अनुरूप पुनर्निर्माण हुने भएका छन् ।

पुनर्निर्माण विद्यालयको पूर्वाधारमा शैक्षिक भवन, कक्षा कोठा, फर्निचर, छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाइको सुविधा रहने छ।

भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारत सरकारको मातहतमा रहेको प्रमुख संस्था ‘केन्द्रीय भवन अनुसन्धान संस्थान’ रुड्कीले ती विद्यालयहरूको पुनर्निर्माणका लागि प्राविधिक सहयोग समेत प्रदान गर्ने जनाएको छ ।

भूकम्प पश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक, आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको सम्झौता हस्ताक्षरमा सहभागी भारतीय राजदूतावासका पदाधिकारीहरूले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *