इक्यानका ९ कर्मचारी र ४६३ सदस्यको कोरोना बिमा

काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले आफ्ना सबै सदस्य र कर्मचारीको कोरोना बिमा गरेको छ । इक्यान अध्यक्ष प्रकाश पाण्डेले इक्यानका सबै ४६३ जना सदस्य र ९ जना कर्मचारीको कोरोना बिमा गरेको जानकारी दिए ।

उनका अनुसार सबै कर्मचारी र सदस्यको १ लाख रुपैयाँ बराबरको बिमा गरिएको हो । जसबापत प्रतिव्यक्ति ६ सय रुपैयाँ खर्चिएको छ । बिमाको अवधि १ वर्षका लागि हुनेछ । बिमा गरेको १४ दिनपछि यो एक्टिभ हुनेछ ।

त्यसै गरी कोरोना भाइरसको महामारी र त्यसपछि मुलुकमा लागू भएको लकडाउनका कारणले व्यवसायमा समस्या सिर्जना भएको र लकडाउनपछि व्यवसाय बचाउन व्यवसायीहरूलाई बैङ्कबाट सफ्ट लोन लिनका लागि आवश्यक छलफल भइरहेको समेत अध्यक्ष पाण्डेले जानकारी दिए ।

गत चैत ११ गतेदेखि मुलुकमा लकडाउन भएका कारण अहिले शैक्षिक परामर्श क्षेत्र प्रभावित बनेको छ भने इक्यानले यस अवधिमा विदेशमा रहेका विद्यार्थीहरूको समस्या समाधानमा समेत क्रियाशील छ ।

कोरोनाका कारण उच्च शिक्षाका लागि अध्ययन गर्न जान चाहने विद्यार्थी विदेश जान पाएका छैनन् भने सरकारले शिक्षा मन्त्रालयबाट जारी हुने एनओसी समेत गत फाल्गुन देखी बन्द गरिसकेको छ । यसले विदेश जान तयारी गरिरहेका विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ ।

सरकारले आगामी दिनमा लकडाउनको मोडालिटी परिवर्तन गर्दै आर्थिक गतिविधि समेत बढाउने निर्णय गरिसकेको छ। जस अनुसार जेठ ३२ गतेपछि शैक्षिक परामर्श संस्थाहरू सञ्चालन हुनसक्ने देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण मुलुकमा ३ हजार ४ सय ४८ जना सङ्क्रमित भएका छन् भने ४६७ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *