हावाहुरी, असिना र गरिमा धान पीडित किसानलाई राहत

चितवन । गत वैशाखमा हावाहुरी र असिनापानीले तरकारी खेतीमा क्षती पुर्याएपछि खैरहनी नगरपालिकाले किसानहरुलाई राहत रकम प्रदान गरेको छ । नगरको आन्तरिक स्राेतबाट १० लाख भन्दा बढि रकम पीडित किसानहरुलाई राहत स्वरुप प्रदान गरेको नगरपालिकाले जनाएको छ ।
क्षतीको वर्गिकरण गरि उनीहरुलाई राहत रकम प्रदान गरिएको थियो । तरकारीको पनि वर्गिकरण गरिएको थियो । हावाहुरी र असिनापानीले नगरपालिकाको वडा नम्वर १० र ११ मा बढी क्षति पुर्याएको थियो । यी दुई वटा वडा तरकारी उत्पादनमा अब्बल छन् ।
किसानलाई दिइएको राहत रकम थोरै भएपनि दुःखमा साथ दिईएको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले बताए । एक कठ्ठा भन्दा बढि जग्गामा खेती गरेका किसानलाई राहत दिइएको उनले जानकारी दिए । बढि क्षती भएको वडा नम्वर १० र ११ मा क वर्गमा करेला,खुर्सानी र खर्वुजा तथा ख वर्गमा अन्य तरकारीलाई राखिएको थियो ।

क वर्गको तरकारी क्षति भएकालाई प्रति कठ्ठा ५ सय ५० रुपैयाँ र ख वर्गको तरकारी क्षती भएकालाई प्रति कठ्ठा ४ सय ५० रुपैयाका दरले प्रदान गरिएको नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक ध्रुव आचार्यले जानकारी दिए । बाँकी वडाको क वर्गमा पर्ने तरकारीको प्रति कठ्ठा ४ सय ५० रुपैयाँ र ख वर्गका लागि ४ सय रुपैयाँ प्रदान गरिएको आचार्यले बताए ।
हावाहुरी र असिनापानीले खैरहनीमा २ हजार २ सय ८९ कठ्ठामा लगाइएको तरकारी बालीमा क्षति पुर्याएको थियो ।
खैरहनी ६ का किसान कृष्ण धरेलले रकम थोरै भएपनि किसानको दुखमा नगरपालिकाले साथ दिएको प्रति खुशी व्यक्त गरे । ‘क्षतिको रकम थोरै हो । नगरले आफ्नै श्रोतबाट राहत रकम दिएकोमा खुशी छु । तर राहत दिँदा अनुगमन गर्नुपर्छ’, किसान धरेलले भने ।
गरिमा धान पीडितलाई पनि राहत वितरण
अघिल्लो वर्ष गरिमा नामक हाईब्रिड धानको बीउ रोप्दा नोक्सानी बेहोरेका किसानहरुलाई राहत रकम प्रदान गरिएको छ । संघीय सरकारबाट प्राप्त भएको २५ लाख ४८ हजार रुपैयाँ बराबरको राहत रकम खैरहनी नगरपालिकाले यहाँका किसानहरुलाई प्रदान गरेको हो । राहत रकम कठ्ठाका दरले दामासाही रुपमा वितरण गरिएको छ ।
खैरहनीमा ४ हजार १ सय १० कठ्ठामा गरिमा जातको धान लगाईएको थियो । प्रतिकठ्ठा ६ सय १९ रुपैयाँका दरले किसानहरुलाई वितरण गरिएको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । उत्पादनको आधारमा नभई लागत मुल्य निर्धारण गरेर किसानलाई राहत दिईएको हो ।
कृषि ज्ञान केन्द्रले उत्पादन लागत प्रतिकठ्ठा ३ हजार ६ सय ३५ रुपैयाँ कायम गरेको थियो । खैरहनी १० का किसान कृष्ण अर्यालले ढिलै भएपनि राहत रकम प्राप्त हुनु राम्रो पक्ष भएपनि क्षती अनुसार ज्यादै न्युन रहेको बताए । उनले १५ कठ्ठामा गरिमा धान लगाएका थिए । ‘आफुले पाएको रकमलाई राहतको रुपमा लिएको छु । क्षतीपूर्ती हो भने यो न्यायोचित छैन’, किसान अर्यालले भने ।
चितवनमा गरिमा धानका कारण किसानले १० करोड १९ लाख भन्दा वढिको नोक्सानी ब्यहाेरेका थिए ।








