डोटी र बैतडीको क्वारेन्टाइनमा बसेका दुई पुरुषको मृत्यु

काठमाडौं । सुदूरपश्चिम प्रदेशको डोटी र बैतडी जिल्लाका क्वारेन्टाइनमा बसेका दुई पुरुषको मृत्यु भएको छ । डोटीको केआई सिंह गाउँपालिका र बैतडीको पाटन नगरपालिकास्थित क्वारेन्टाइनमा बसेका दुई पुरुषको मृत्यु भएको हो ।

केआई सिंह गाउँपालिका-३ दल्लका १९ वर्षीय युवकको सिताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा आज बिहान मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए । भारतबाट आएर जेठ २० गतेदेखि क्वारेन्टाइन बस्दै आएका उनी लामो समयदेखि मुटुको रोगी भएको बुझिएको छ ।

मृतक युवकको स्वाब संकलन गरी पीसीआर परीक्षणको तयारी भइरहेको छ । उक्त क्वारेन्टाइनमा रहेका अन्य १० जनाको पनि स्वाब संकलन गरी आजै धनगढी पठाउने तयारी भएको छ ।

उता बैतडीको पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालयमा बनाइएको क्वारेन्टाइनमा बसेको ३१ वर्षीय पुरुष गएराती मृत्यु भएको छ । नगरपालिका वडा नम्बर ६ सन्तोली घर भएका ती पुरुष शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका थिए ।

मृतकको स्वाबको नमुना संकलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । यसअघि पनि भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको जेठ २० मा मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *