मलद्धार नै बन्द भएका ७ बर्षिय बालकको उपचारमा आर्थिक समस्या

धरान । जनीवनी गरी जिवन यापन गर्ने धरान उपमहानगरपालिका वडा नं. ६ पानबारीका प्रकाश सार्की मुदेललाई यतिबेला पहाड खसेको छ । जन्मदै मलद्धार बन्द भएर जन्मिएका छोरा प्रशान्त मुदेलको आर्थिक अभावका कारण उपचारले पूर्णता नपाउँदा उनको परिवारमा दुखःको पहाड खसेको हो ।

७ बर्ष अगाडी नोबेल अस्पताल बिराटनगरमा जन्मेका प्रशान्त सार्की मुदेलको जन्मदै मलद्वार बन्द थियो । अहिलेसम्म तीन पटक अप्रेशन गरेर उपचार गरेपनि स्वास्थ्यमा कुनै सुधार नआएपछि मुदेल परीवारलाई छोरालाई कसरी बचाउने चिन्ता परेको छ । ७ वर्षिय बालकको स्वास्थ्यमा अहिलेसम्म कुनै सुधार हुन नसक्दा दिशा गर्न समेत सहज नभएको उनका बुवा प्रकाश सार्की मुदेलले बताए । पछिल्लो पटक गरीएको अप्रेसनले दिसा निकाल्न सानो प्वाल बनाइए पनि त्यसले उनको स्वास्थ्यमा खासै सुधार आएको छैन ।

धरान उपमहानगरपालिका वडा नं ६, पानबारीका मुदेलले आफ्नो परीवारलाई दैनिक ज्यालादारी काम गरेर पालन पोषण गर्दै आएका छन । ‘काम पाएका दिन मात्र ७/८ सय रुपैयाँ कमाई हुन्छ । अरु बेला केही पाईदैन । छोराको अवस्था देखेर सारै पीडा हुन्छ ।’ प्रशान्तका बुबा प्रकाश सार्की मुदेलले बताए ।

बालकको उपचारको क्रममा माइतीबाट ५० हजार रुपैंया र पानबारी सामुदायिक वन उपभोक्ता समूहबाट ५ हजार रुपैंया सहयोग प्राप्त भए यता कतैबाट केही सहयोग नपाएको बालककी आमा अर्चना सार्कीले बताइन् । ‘हाम्रो हैसियत पुगेन । अहिले नियमित उपचार घोपा क्याम्पमा भइरहेको छ । तरपनि छोराको स्वास्थ्यमा खासै सुधार भएन ।’

उनको उपचारमा अझै कति खर्च लाग्ने हो थाहा छैन । तर, उनको उपचारमा लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विभागमा उपचार भइरहेको छ । सार्की परीवारले अहिलेसम्म छोराको उपचारमा ३ लाख भन्दा बढी खर्च भई सकेको बताएको छ । उनीहरुले बालकको उपचारका लागि भनेर साना किसान बैंकबाट २ लाख ३० हजार रुपैयाँ कर्जा लिएका थिए । तर, त्यो कर्जाको साँवा ब्याज पनि समयमा तिर्न नसक्दा अर्को पिडा थपिएको छ ।

आफ्नो बसोबास रहेको १० धुर जग्गा राखेर निकालिएको कर्जाको साँवा ब्याजले उठिवासै लगाउने परिस्थिति बनेको बाबु प्रकाशको गुनासो छ । ‘छोरालाई ठिक पार्न सकिन्छ कि भनेर साना किसान बैंकबाट २ लाख ३० हजार ऋण लिएका थियौं, त्यसको साँवा ब्याज बुझाउन नसक्दा कहिले बैंकले भयो यो बास पनि उठाइदिन्छ भन्ने चिन्ता छ । गरिबका लागि भगवान पनि दाहिना हुँदा रहेनछन् ।’ उनले आफ्नो पीडा सुनाउँदै भने ।

उनले बैंकबाट लिएको कर्जाको नियमित किस्ता ५ महिना यता तिर्न सकेका छैनन् । प्रकाशका छोरा प्रशान्तको थप उपचारको लागि आर्थिक कठिनाई भएकाले देश विदेशमा रहने सबै नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा छोराको ज्यान बचाइदिन उनले आग्रह गरेका छन् ।

विरामी बालकलाई उपचारका लागि आर्थिक सहयोग जुटाइदिन स्थानीय दलित अधिकारकर्मी तथा मिजार समुदाय महासंघ १ नं. प्रदेश सदस्य शरण मंग्रातीले पनि अपिल गरेका छन् । यसअघि सार्की परीवारलाई लकडाउनका कारण खाद्यान्न अभाव भएपछि होप धरान नामक संस्थाले खाद्यान्न सहयोग गरेको थियो ।

आर्थिक अभावका कारण बालक प्रशान्त सार्की मुदेलको उपचार पूर्ण नहुँदा समस्या भएको बताउँदै सार्कीले उपचार गराउन सहयोग गर्न चाहनेहरुले पत्रकार नबिन रम्तेल तथा लम्जेल संर्घषशिलको मोवाईल नम्बरहरु ९८४२०३८३१६, ९८४२०६४२०२ तथा दलित अधिकारकर्मी शरण मग्रातीलाई सम्पर्क गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *