दलित मुद्दामा खोज पत्रकारीता विषयक एक दिने तालिम धरानमा

धरान । सुनसरी निर्वाचन क्षेत्र नं एककी प्रदेश सांसद उमिता बराईलीले दलित माथि भएको अन्याय अत्याचारको विषयमा अब खोज पत्रकारीता गर्नुपर्ने बताएकी छिन। शनिबार धरानमा दलित युवाहरूलाई पत्रकारीता तालिम तथा दलित मुद्दामा खोज पत्रकारीता विषयक एक दिने कार्यक्रमको उद्घाटनमा बोल्दै उनले पत्रकारीताले जनताको समस्यालाई बाहिर ल्याएर उजागर गर्नुपर्ने बताइन।
तल्लो स्तरमा रहेका विषय बस्तुलाई बाहिर ल्याई उजागर गर्नु नै खोज पत्रकारीताको मुख्य उद्देश्य राखिए ती विषयले सार्थकता पाउने सांसद बराइलीको भनाइ छ। उनले राज्यले कानुनी अनुसार व्यवहार नगरे कानुन अनुसारको उपचारहरू दलित समुदायले मात्र नभई सबैले खोज्नुपर्ने बताइन।
कार्यक्रममा नेपाल दलित संघका प्रदेश सचिव रनध्वोज लोहारले सञ्चारको विकास सँगै पत्रकारहरू बाँच्ने आधार बनेको भए पनि दलित समुदायबाट पत्रकारहरू घट्दै गएको बताए। लम्जेल संर्घषशीलले दलित अवस्था भएको नभई आफूले समाजमा सामाजिक उत्पीडनको विभेद बुझेको बताए। दलित पत्रकारले खास गरी आफ्ना मुद्दालाई कसरी उठाउन सकिन्छ भन्ने विषयमा लाग्नुपर्ने बताए।
खोज पत्रकारीताको माध्यम बाट दलित विभेदका बारेमा कस्ता विषय उठाउन सकिन्छ भन्ने विषयमा पत्रकारहरूलाई सचेतना दिनका लागि कार्यक्रम गरिएको नयाँ पत्रिका दैनिकका विराटनगर संवाददाता तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले बताए।
सुनसरीका विभिन्न स्थानहरूबाट २० जना दलित तथा अन्य गैर दलित पत्रकारहरूको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता राष्ट्रिय दलित पत्रकार संघ सुनसरीका अध्यक्ष दिनेश गजमेरले गरेका थिए। पिस मिडिया ग्रुप धरानको आयोजनामा भएको कार्यक्रमलाई प्रदेश नम्बर एक सुनसरी निर्वाचन क्षेत्र एक की सांसद उमिता बराइलीको निर्वाचन विकास कोषको आर्थिक सहयोग रहेको थियो।









