विहानै लागेको आगलागीले नरबहादुरको घरसँगै आमा र बहिनीलाई पनि लपेट्यो । (फोटो फिचर)

धरान । बिहिबार विहानै सल्किएको आगोले धरान–१५का नरबहादुर श्रेष्ठको आमा र बहिनीको अस्थिपञ्चर मात्र बाँकी राखिदियो । दुई तल्ले घरको माथिल्लो तला काठको थियो, विहानै भित्रभित्रै सल्किएको आगोले माथिल्लो तलामा बसिरहेका आमा छोरीलाई ‘गुहार’ समेत भन्न दिएन ।

धरान नौलोपथ स्थित पुर्वप्रहरी निरीक्षक नरबहादुर श्रेष्ठको पुरानो घरमा भएको आगलागीमा परेर उनकी ८७ बर्षिया वृद्ध आमा धनमाया श्रेष्ठ र धनमायाकी छोरी ५२ बर्षिया सिता श्रेष्ठको जलेर मृत्यु भएको हो । उनीहरुको शरीर चिन्नै गाह्रो हुने भएको छ ।

 इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार घरमा बस्दै आएकी वृद्ध आमा र छोरीको जलेर मृत्यु भएको हो । मृत्यु हुने छोरी सिता भने सुस्त मनस्थितिकी थिइन् । ‘विहानै आगलागी भयो भन्ने खबर आयो, आगलागी स्थलमा पुग्दा माथिल्लो तला ह्वारह्वारर्ती बलेको देखें । भित्र दुई जना हुनुहुँदो रहेछ, उहाँहरुको लास समेत चिन्न नसक्ने अवस्थामा पुगेको छ ।’ डिएसपी न्यौपानेले भने ।

आगलागीको कारण प्रष्ट खुल्न नसकेपनि विद्युत सर्ट भएर लागेको हुन सक्ने अनुमान गरीएको छ । केही स्थानीयले ग्याँस सिलिण्डर पड्कीएर आगलागी भएको बताएका छन् ।

घरको माथिल्लो तला काठको भएकोले पुर्णरुपमा जलेको छ । बिहान आठ बजे भएको आगलागी स्थानीय प्रहरी, धरान उपमहानगरपालिकाको दमकल, स्थानीयबासीको प्रयासमा नियन्त्रणमा लिएको छ । मृत्यु भएका दुबै जनाको पोष्टमार्टमका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याईएको छ ।

समयमा दमकल नआएको गुनासो

विहान करिब ८ बजेतिर आगलागी भएको थियो । स्थानीयले घरबाट आगोको मुस्लो निस्किएको देख्ने वित्तिकै धरान उपमहानगरपालिकाको दमकललाई फोन गरेपनि १० मिनेटको बाटोमा दमकल एक घण्टापछि आइपुगेको बताएका छन् । ‘धरान उपमहानगरपालिका कार्यालय चतरालाइनबाट यहाँ १० मिनेटमै आइपुग्छ । तर, हामीले सम्पर्क गरेको करिब १ घण्टापछि दमकल आयो ।’ धरान–१५ नौलोपथका एक स्थानीयले भने । उनले दमकल अलिक छिटो आइदिएको भए आमाछोरीलाई बचाउन सकिने जिकिर गरे ।  

नेपाली कांग्रेस सुनसरी सचिब सुजेन्द्र तामाङले पनि उपमहानगरपालिकाको दमकल आइपुग्न ढिलाई गरेको स्थानीयको गुनासो रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस नै लेखेका छन् ।

तस्विरहरू, भरतराज शर्मा तथा राजिव दाहालकाे फेसवुकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *