विराट राजवंशीको इतिहास बोकेको ‘हकार’ स्मारिका विमोचन : विराट दरबार निर्माणका लागि दश करोड छुट्ट्याइयो

विराटनगर । विराट राजवंशीको इतिहास बोकेको ‘हकार’ स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम राखेर विराट राजवंशी सांस्कृतिक पुस्तकालयका अध्यक्ष कुसेश्वर राजवंशीको अध्यक्षतामा सोमबार एक कार्यक्रमको आयोजना गरी स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको हो ।
विराट राजवंशीको इतिहास र पहिचानलाई जीवन्त राख्न महानगरपालिकाले विराट दरबार निर्माणका लागि दश करोड छुट्ट्याएको विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले बताए । कुनै पनि क्षेत्र, सामाजिक कार्य साथै विकास निर्माणका कार्यहरूमा एकता भएर काम गरे सफल हुने पराजुलीको भनाई छ ।

त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि विराट राजवंशी उत्थान समाजका केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डलले विराटनगरको भूमि पुत्र अर्थात् रैथाने विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत गर्न साथै विराटनगरको पहिलो जातिकोरुपमा विराट राजवंशीलाई घोषणा गर्न लगायतका ९ बुँदे मागहरू सरकार समक्ष प्रस्तुत गर्दै आएको भए पनि सरकारले बेवास्ता गरेकाले अझै विराट राजवंशी समुदाय मिलेर अगाडी बढ्न पर्ने बताए ।
उनले भने ‘भर्खरै विमोचन भएको ‘हकार’ स्मारिकाले समाजलाई अगाडी बढ्न मद्दत पुग्छ ।’

‘हकार’को अर्थ विराट राजवंशी भाषामा निमन्त्रणा रहेको हकार स्मारिकाका सम्पादक रामसुन्दर विराट राजवंशीले जनकारी दिए । यस्तै कार्यक्रममा राष्ट्रिय जनजाति महासङ्घका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष प्रदीप कुमार विश्वास, विद्यार्थी नेता दिवस राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।









