चौरजहारी घटना : प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

चितवन । खैरहनी नगरपालिकाका दलित सङ्घर्ष समितिको आयोजनमा रुकुम पश्चिममा भएको नरसंहार हत्याकाण्डको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ ।

हत्याकाण्डको घोर भर्त्सना गर्दै खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी मार्फत प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराइएको कार्यक्रमका संयोजक गोपाल परियारले जानकारी दिए । पत्रमा सो घटना अहिलेको युगमा पनि जातीय विभेदको चरम पराकाष्ठाको रूपमा बाहिर आएको र घटनाबाट देशभरका सिङ्गो ६० लाख दलित समुदाय स्तब्ध बनेको उल्लेख छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर हदैसम्मको कानुनी कारबाहीको मागसमेत गरिएको छ ।

ज्ञापनपत्र बुझाउनुअघि समितिले खैरहनी नगरपालिकाको चौबिसकोठी चोक पर्साबाट दबाब र्‍याली निकालेको थियो । र्‍यालीमा दलित एकता जिन्दाबाद, मान्छे मार्न पाइँदैन, दलित समुदाय एक होऔँ ,रुकुम घटनाको दोषीलाई कारबाही गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सयौँ मानिस सहभागी थिए । र्‍याली खैरहनी नगरपालिकाको कार्यालय अगाडि कोणसभामा परिणत भएको थियो ।

सभामा खैरहनि नगरपालिकाका प्रमुख लालमणि चौधरीले रुकुम घटना दुखद र अक्षम्य भएको बताए । चौधरीले संविधान कुल्चेर भएको सो घटनाको निन्दा गर्दै निष्पक्ष छानबिन गरी अपराधीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए ।

बुद्धिजीवीको तर्फबाट डेजि बोर्डिङका प्रधानाध्यापक तथा वैचारिक व्यक्ति प्रेम रिमालले कार्यक्रममा बोल्दै रुकुम घटना कहालीलाग्दो र नरसंहार रहेकोले दोषी लुकाउन नहुने र यदि त्यस्तो खेल भए सम्पूर्ण जनताहरू एक भई रुकुम घटनामा ज्यान गुमाएका नवराज लगायत ६ जनालाई न्याय दिलाउनु पर्ने बताए ।

साथै सम्पूर्ण न्याय प्रेमीहरूले यस्ता घटना दोहोरिन नदिन राज्य कठोर हुनुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार सङ्घ चितवनका उपाध्यक्ष गोपाल विश्वकर्मा पूर्वी चितवन सुनचाँदी व्यावसायिक सङ्घका अध्यक्ष प्रेम खाती, हामी नेपाली हाम्रो नेपालकी अभियन्ता सीमा घतानी सामाजिक अभियन्ता अर्जुन भुसाल तामाङ पत्रकार सङ्घ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ लगायतले जातीय विभेदमुक्त समाज निर्माण गर्न, सचेतना फैलाउन र समाज रूपान्तरणको आन्दोलनमा अझै पनि लाग्नुपर्ने बताए।

सभामा खैरहनी दलित सङ्घर्ष समितिका संयोजक गोपाल परियारले रुकुममा घटेको घटनालाई विषयान्तर गरी साम्य पार्न खोजिए माफ गर्न नसकिने बताए ।

उनले दलितको नाममा गरिएको भेदभाव र दमनको एक एक हिसाब खोजिने समेत बताए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, जनप्रतिनिधिहरू तथा सरोकारवालाले रुकुम घटना अक्षम्य भएकाले दोषीउपर कडा कारबाहीको माग गरे । घटनाको विरोधमा सयौँको सङ्ख्यामा मानिसहरू भेला भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *