स्वास्थ्य क्षेत्रमा तेबरले बजेट बढेको छः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सरकारको पहिलो प्राथमिकता भएको दोहोर्याएका छन्। प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको सोमबार जवाफ दिँदै खतिवडाले आकस्मिक खर्चका लागि मात्र ६ अर्ब छुट्ट्याएको बताए। कोरोना महामारीका लागि ६ अर्बमात्र बजेट विनियोजन गरिएकोले यसले अहिले आवश्यकतालाई सम्बोधन गर्न नसक्ने सांसदहरूले बताएका थिए।
सोही विषयमा जवाफ दिँदै अर्थमन्त्री खतिवडाले भने, ‘आकस्मिक खर्चका लागि मात्र ६ अर्ब रकम छुट्ट्याएको हो। त्यसबाहेक स्वास्थ्यको नियमित कार्यक्रमबाट उपकरणहरू किन्ने, स्वास्थ्य कर्मीको व्यवस्थापन गर्ने, पूर्वाधारहरू निर्माण गर्ने अरू शीर्षकमा रकम विनियोजन भएको छ। तर त्यो आकस्मिक कार्यको लागि विनियोजन गरिएको हो।’
उनले कोरोना उपचार तथा रोकथामका लागि चालु आर्थिक वर्षमा पनि ५ अर्ब बजेट निकासा भएको जानकारी गराए। यसबाट केही सामाग्री खरिद भइसकेको र केही महिना यसले पनि धान्ने उनले बताए। चालु आर्थिक वर्षमा निकासा भएको रकम, खरिद भएका सामाग्री र त्यसबाट कति महिना सम्म धान्न सकिने हो भन्ने विषयको अनुमान गरेर स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरिएको उनले बताए। कोरोना रोकथाममा उक्त बजेट अपुग भए वा फेरि पनि आवश्यक परे मन्त्रालयको बजेटबाट रकमानान्तरण गरिने उनले बताए।
अर्थमन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा विगत तीन वर्ष यता निरन्तर रकम बढाइएको बताए। उनले तीन वर्ष अघि कुल बजेटको २.५ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा खर्च हुनेगरेमा अहिले त्यसलाई बढाएर ६ प्रतिशत पुर्याइएको बताए। उनले तीन वर्षमा झन्डै तेबरको अनुपातमा स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन भएको बताए। यसलाई सन्तोस जनक मान्नु पर्ने उनले बताए।
एक्कै चोटि उक्त बजेटलाई १०/१२ प्रतिशत पुर्याउने अवस्था अहिले नभएको उनले बताए। उनले ६ प्रतिशत स्वास्थ्य क्षेत्रमा बजेट खर्च हुनु राम्रो भएको बताए।








