सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रुपमा सार्वजनिक गर्ने

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई मापन गरेका नेपाल-चीनले संयुक्तरुपमा सार्वजनिक गर्ने भएका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने बताएकी हुन् ।
राजदूत होउले ट्विट गर्दै दुबै मुलुकले संयुक्त वक्तव्यमार्फत सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने जनाएकी छन् । चिनियाँ सर्वेयरले पनि सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको नाप लिएको उनको भनाई छ ।
उनले ट्वीटरमा फोटो पोस्ट गरेर २७ मे २०२० मा चिनियाँ सर्वेयर टोली सगरमाथाको चुचुरोमा पुगेको बताइन् । उनले सगरमाथाको शिखरमा पुग्न सफल सर्भे टोलीलाई बधाईसमेत दिएकी छन् ।
https://twitter.com/PRCAmbNepal/status/1266062765640187904
‘सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेका चिनियाँ र नेपाली टीमलाई बधाई । सगरमाथा दुवै देशको मित्रताको संकेत हो । दुवै देशले संयुक्त रूपमा सगरमाथाको उचाइ संयुक्त वक्तव्य मार्फत सार्वजनिक गर्नेछ’, यान्छीले भनेकी छिन् । नेपालले गत वर्ष नै सगरमाथाको नाप लिइसकेको छ ।
सगरमाथाको उचाई नाप्नका लागि चिनियाँ टोली २७ मे, २०२० मा शिखर पुगेको थियो भने २२ मे, २०१९ मा नेपाली सर्भेयरको टोली शिखरमा पुगेको थियो ।








