जन्मदिनमा मृगौला पीडितलाई १८ हजार रुपैयाँ र खाद्यान्न तथा सुरक्षाकर्मीलाई मास्क सहयोग

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले आफ्नो जन्म दिनमा मृगौला रोगी राजन श्रेष्ठलाई बुधबार आर्थिक र खाद्यान्न सहयोग गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका वडा ४ सिम्खडा गाउँका श्रेष्ठलाई १८ हजार नगद र खाद्यान्न सहयोग गरेका हुन् । सो अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको पनि उपस्थिति रहेको थियो । कम्जोर आर्थिक अवस्थाका कारण श्रेष्ठले आफ्ना तीन सन्तानलाई विद्यालय समेत पठाउन सकिरहेका छैनन् । उनीहरुको पठनपाठनको निरन्तरताका लागि पहल गर्ने मेयर थापाले प्रतिबद्धता जनाएका छन् ।

बुधबारै अशोकले विभिन्न ४ प्रहरी प्रभागमा मास्क पनि वितरण गरे । कोरोना भाइरस (कोभिड– १९) रोकथाम र नियन्त्रणका लागि ‘फ्रन्टलाइन’ मा खटिएका सुन्दरीजल, माकलवारी, साँखु र काँडाघारी महानगरीय प्रहरी प्रभागमा कार्यरत सुरक्षाकर्मीहरुलाई एन ९५ मास्क र सर्जिकल मास्क वितरण गरिएको हो ।

चार प्रहरी प्रभागमा जम्मा ८४ थान एन ९५ मास्क र १ सय ४४ थान सर्जिकल मास्क वितरण गरिएको अशोकले जानकारी दिए । सो अवसरमा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, वडा ७ का अध्यक्ष अमरचन्द्र बोहरा, तेक्वान्दो खेलाडी पुष्पप्रसाद गौतमको पनि उपस्थिति रहेको थियो । त्यस्तै अशोकले गोकर्ण मन्दिर हातामा रहेका बादर, चराचुरुगी र कुकुरलाई आहारा पनि खुवाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *