‘इद उल फित्र’को अवसरमा कोरोना संक्रमितलाई खुवाइयो खाना

धरान। इस्लाम धर्मावलम्बीको पर्व इद उल फित्रको अवसरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीप कुमार भण्डारीले शुभकामना दिएका छन्। सोमबार एक शुभकामना सन्देश जारी गरेर मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
यस्तै, प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले पनि सोमबार एक सन्देश मार्फत शुभकामना दिएका छन्। उनले सन्देशमा विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड—१९) का कारण यी चाडपर्व खुला र भव्य रूपमा आयोजना गरी मनाउन सम्भव नभएकाले घरमै बसेर सुरक्षित हिसाबले पर्व मनाउन अपिल गरे।
भण्डारीले नेपाललगायत विश्वका विभिन्न मुलुकमा रहेका इस्लाम धर्मावलम्बीले मनाउने इद उल फित्र पर्वको आफ्नो छुट्टै पहिचान, मौलिकता र विशिष्टता रहेको बताए। यसबीच, इद उल फित्रको अवसरमा मुस्लिम समाज धरानले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा रहेका २५ जना कोरोना सङ्क्रमितलाई खाना खुवाएको छ।
धरानको कोभिड अस्पतालमा २५ जना मुस्लिम युवाहरूलाई राखिएको छ भने सोही ठाउँमा गएर समाजले खाना खुवाएकाो हो। त्यहाँ संक्रमित मध्ये मुस्लिम समूदायका अयुव मियाले इदको दिन खीर खाने इच्छा गरेपछि वीपी प्रतिष्ठानका मेडिसिन विभागका विभागीय प्रमुख प्रा. डा. सञ्जीव शर्माको समन्वयमा धरान मुस्लिम समाजले अस्पतालमा रहेका २८ जनालाई खाना खुवाएको समाजका संयोजक फिरोज अलीले जानकारी दिए।
इद उल फित्रको अवसरमा उनीहरुलाई बिरयानी, चिकन, सेबइ, पुलाउ लगायतका खाना खुवाएको संयोजक अलीले जानकारी दिए। इद उल फित्रको अवसरमा उनले कोरोना सङ्क्रमितहरूलाई चाडै निको भएर घर जान सकुन् भनेर शुभकामना व्यक्त गरे। सोही क्रममा अस्पतालका सहायक अस्पताल निर्देशक डा. दिलीप ठाकुर, प्रा.डा. सञ्जीव कुमार शर्मा लगायतले समाजलाई धन्यवाद ज्ञापन गरेका थिए।








