कोरोना सङ्क्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

काठमाडौं। नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ। जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको हो।

उपचारको क्रममा जेठ ४ गते राति वीरगञ्जको नेशनल मेडिकल कलेजमा एक वृद्धको मृत्यु भएको थियो। वीरगञ्जस्थित प्रयोगशालामा गरिएको परीक्षणमा शंकास्पद रिपोर्ट आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। त्यहाँ पीसीआर विधिबाट गरिएको परीक्षणमा मृतक वृद्धमा कोरोना पोजेटिभ देखिएको नारायणी अस्पतालका सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।

वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने केही जानकारी दिएको छैन। क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए। अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्तिम संस्कार गरिसकेका छन्।

स्वाब संकलन भएको लामो समयसम्म रिपोर्ट नआउँदा सङ्क्रमण फैलिन सक्ने जोखिम बढेको छ। यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *