भारतबाट धमाधम स्वदेश फिर्ता, सोझै क्वारेनटाईनमा राखिदै

ध्रुवराज खनाल-

चितवन । छिमेकी मुलुक भारतमा काम गर्न गएका नेपालीहरु धमाधम घर फिर्ता हुने क्रम जारी छ । आफ्नो ठाउँ फर्कन सिमानामा आएर अड्किएकाहरुलाई केही स्थानीय तहका प्रमुखनै लिन पुगेका छन् भने कतिपयले गाडी पठाएर आफ्ना नागरीकलाई ल्याईरहेका छन् ।

चितवनको माडी नगरपालिकाले शनिवार राती ६५ जनाको उद्धार गरी आफ्नो ठाउँ ल्याएको छ । भारतमा रोजगारीको सिलसिलामा रहेकाहरु मध्ये पछिल्लो पटक ७५ जनालाई फिर्ता ल्याईसकेको माडी नगरपालिका प्रमुख ठाकुर ढकालले बताए ।

उनीहरुलाई नगरपालिकाले बनाएको सामुदायिक क्वारेनटाईनमा राखिएको छ । प्रमुख ढकालका अनुसार कतिपयले आउन चाहेकाले नाम टिपाएका छन् । जिल्लाका अन्य पालिकाहरुमा पनि भारतमा रोजगारी गर्नेहरु फर्किरहेका छन् ।

खैरहनी नगरपालिकामा शनिवार राती २५ जना आएका छन् । त्यस मध्ये ३ जना गोर्खाका छन् । उनीहरुलाई आफ्नै घर फर्काउने तयारी भईरहेको खैरहनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताए ।

उनीहरुसहित अहिले खैरहनी नगरपालिका भरी ४८ जना क्वारेनटाईनमा रहेका छन् । पछिल्लो पटक शनिवार राती आएका सबै भारतमा रोजगारी गर्दथे । खैरहनी नगरपालिकाले नगर भित्र रहेका माध्यमिक विद्यालयहरुमा क्वारेनटाईन बनाएको छ ।

नगर प्रमुख लालमणि चौधरीका अनुसार कंकाली मावि, जनजीवन मावि, खैरहनी मावि, कठार मावि, गवै मावि र कपिया माविमा क्वारेनटाईन बनाईएको हो । आवश्यकता अनुसार थप गर्दै जाने उनले बताए ।

विश्व स्वास्थ्य संगठनले तोके क्वारेनटाईन संभव नहोला तथापि प्रयासरत छौं, नगर प्रमुख चौधरीले भने, नगरको श्रोत साधनले भ्याए जतिको सेवा सुविधा उपलव्ध गराईएको छ, आवश्यकता अनुसार थप्दै पनि जाने गरि काम भईरहेको छ ।

खैरहनी नगरपालिकाले यहाँ आउन चाहनेहरुलाई नाम टिपाउन यसअघिनै आह्वान गरिसकेको छ । आउनेहरुलाई गाडीको समेत व्यवस्था गरिने नगर प्रमुख चौधरीले बताए । खैरहनीसँंगै जोडिएको रत्ननगर नगरपालिकामा पनि शनिवार राती १६ जना आएका छन् । उनीहरुलाई सोझै सम्वन्धित वडाको क्वारेनटाईनमा राखिएको रत्ननगर नगरपालिका प्रमुख नारायण वनले बताए । रत्ननगरले केही स्थानमा क्वारेनटाईन बनाएको छ ।

यता राप्ती नगरपालिकामा ७ जना भारतबाट आएका छन् । उनीहरुलाई सामुदायिक क्वारेनटाईनमा राखिएको छ । नगरको १३ वटै वडामा तयारी भएपनि हालसम्म वुद्धशान्ती मावि र व्रह्मनगर मावि प्रयोगमा आईसकेको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताईन् । वडागत रुपमा विद्यालयहरुलाई क्वारेनटाईनका लागि तोकिएको र तयारी अवस्थामा रहको प्रमुख बरालले जानकारी दिईन् ।

उनका अनुसार राप्ती घर भई हाल भारतमा २ सय ४७ जना कार्यरत रहेका छन् ।

खानाको व्यवस्था नगरले गरोस्
क्वारेनटाईनमा वसेकाहरुले खानाको व्यवस्था सम्बन्धित पालिकाले गर्नु पर्ने बताएका छन् । शनिवार राती खैरहनी आईपुगेकाहरुले नगरपालिकाले खानाको व्यवस्था गरेमा खुसी हुने प्रतिक्रिया दिए । सुनौली नाकामा दुई रात तीन दिन काटेका उनीहरुले आफ्नो ठाउँमा आउन पाउँदा खुसी लागेको भन्दै बसेकै ठाउँमा खानाको समेत व्यवस्था हुनु पर्ने बताए । शनिवार राती आएकाहरु खैरहनी ११ का हुन् । उनीहरुलाई घरबाटै खाना ल्याईएको छ ।

शनिवार राती मात्रै आईपुगेका हौं यहाँ आएका एक जनाले भने – सवै सुविधा विस्तारै पाउने आशा छ ।

नगरपालिकाले अहिले म्याट, तन्ना, सिरानी, झुल, सबुन, स्यानिटाईजर, माक्स, वाईफाई लगायतको सुविधा उपलव्ध गराएको छ । घरमा कोही नहुने र परिवारका अन्य सदस्य अशक्त भएकाहरुलाई भने खानाको समेत व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *