धरानमा दुई समूहबीच कुटाकुट, महिला वडा सदस्यसहित ३ जना घाइते

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । सुनसरीको धरान वडा नं. १४ विजयपुरमा चौक स्थापना गरेको नाममा विवाद भएकाे छ । विवादमा दुई समुहबीच कुटाकुट हुँदा महिला वडा सदस्य मनिषा बिकसहित ३ जना घाइते भएका छन् ।

झडपमा धरान १४ की महिला सदस्य मनीषा विक, पूर्व प्रहरी हवलदार झलक तामाङ र सुरज विक घाइते भएका भएका हुन् । उनीहरुको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेकाे छ ।

धरान १४ को बमधारा मार्गमा गत वर्षको शिवरात्रीको अवसरमा नामकरण गरिएको शिवजी चौकको विषयमा विवाद भएको हो । शिवजी चौकको नामलाई स्थानीयहरुले युवाहरूलाई लक्षित गर्दै गाँजा खाने अर्थात् गजेडी भन्दै आएकाले पनि त्यहाँका युवाहरूले विरोध गर्दै आएको बुझिएको छ ।

शनिबार मात्रै स्थानीय केही युवाहरूले शिवजी चौक लेखिएको बोर्ड फुटाई दिएको भन्दै स्थानीयवासी र युवाहरूबीच आज बिहान भएकाे झडपमा चिर्पट तथा वियरको बोतल प्रहार भएकाे छ । झडपका क्रममा चिर्पट र बोतल प्रहार गर्ने ५ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाबुराम अधिकारी, अर्जुन तामाङ, पदम तामाङ, गणेश कार्की र मनोज तामाङ रहेका छन् । पक्राउ परेकालाई थप अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाइने इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

यसैबिच झडपमा घाइते भएकाहरुको मेयर तिलक राईले अस्पतालमा पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *