एउटै वडा कार्यालय भवन दुई ठाउँमा : विवादपछि वडाध्यक्षले भने -‘अन्य प्रयोजनको लागि’

भरतराज शर्मा (गोपाल )-

धरान, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ को वडा कार्यालय दुई ठाउँमा निर्माण हुन थालेको भनी अन्यौलता बढेको बेला वडा अध्यक्ष रुद्र दहालले दुवै ठाउँको भवन आफैले शिलान्यास गरेर विवादमा परेपछि विज्ञप्ति निकालेका छन् ।

शुक्रवारको मितिमा शनिवार विज्ञप्ति जारी गर्दै नडाहा चौकमा निर्माण हुँदै गरेको भवन नै वडा समिति कार्यालय भएको स्पष्टीकरण समेत दिएका छन् ।

विज्ञप्तिमा वडा कार्यालय भवन बराहक्षेत्र ३ नडाहामा निर्माणाधीन रहेको र मुसहर बस्तीमा निर्माण हुँदै गरेको भवन अन्य प्रयोजनको लागि प्रयोग गर्ने भनी जेठ ९ गते वडा समितिको बैठकले निर्णय गरेको उल्लेख गर्दै अनावश्यक हल्लाको पछाडि नलाग्न र टिका टिप्पणी नगर्न आग्रह गरिएको छ ।

०७६ वैशाख २७ गते नडाहा चौकमा वडा कार्यालय र भानुचौकमा स्वास्थ्य कार्यालय निर्माण गर्ने निर्णय भए अनुसार ०७७ वैशाख २७ गते वडा कार्यालय भवनको शिलान्यास नडाहा चौकमा भई निर्माण कार्य जारी रहेकोमा ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा मुसहर टोलमा भवन निर्माण गर्न नगरपालिका कार्यालयबाट ठेक्का लगाए पनि निर्माण कार्य अवरुद्ध भएको उल्लेख गर्दै जेठ ९ गते वडा समितिको बैठकले उक्त भवन अन्य प्रयोजनका लागि उपयोग गर्ने निर्णय भएकोले शुक्रवार शिलान्यास गरिएको बताइएको छ ।

यसअघि नडाहामा वडा कार्यालय भवन उनैले शिलान्यास गरेर निर्माण कार्य भइरहेको बेला शुक्रवार वडा अध्यक्ष दाहालले विवादित ठाउँमा आफै शिलान्यास गरेपछि उनी विवादमा परेका थिए । नडाहामा निर्माणाधीन भवनको निर्माण समितिलाई थाहा नदिई उनले शिलान्यास गरेकाले अध्यक्षको कार्यशैली प्रति सरोकारवालाहरूलाई शङ्का लागेको निर्माण समिति अध्यक्ष केशव पुरीले बताए ।

पुरीले भने ‘अध्यक्ष ज्यूले मलाई उताको (मुसहरी टोलाएको) कुरा मिलाएँ अब काम गर्न सजिलो हुन्छ भनेका थिए । तर अन्य प्रयोजनको लागि भवन उपयोग गर्ने निर्णय भएको भने बताएका थिएनन् ।’

निर्माण समितिलाई थाहा नदिई मुसहर टोलमा भवन शिलान्यास गरेको निर्माण समितिले आज शनिवार बिहान बैठक बोलाएको थियो । उक्त बैठकमा वडा अध्यक्ष दाहालले विशेष कारण जनाउँदै उपस्थित नहुने भएपछि बैठक १० बजे वडा कार्यालय निर्माण स्थलमा भएको भेलामा अध्यक्ष दाहालले वडा कार्यालय नडाहामा निर्माण हुने भवनमै रहने ज्ञारेन्टी गरे ।

उनले भने ‘तपाईँहरू ढुक्कसँग रहेर नडाहामा भवन निर्माण सम्पन्न गर्न जोड दिनुहोस् ।’

भेलामा निर्माण समिति र स्थानीय समुदायलाई विश्वास दिलाउन अध्यक्ष दाहालले विज्ञप्तिसमेत दिने प्रतिबद्धता जारी गरेलगत्तै वडा कार्यालयको लेटरप्याडमा विज्ञप्ति प्रकाशित गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *