यसरी गर्न सकिन्छ रामेछाप जिल्लाकाे विकास

हामीले जान्दा मेरो बुवा शेरबहादुर तामाङ विभिन्न हाट बजारमा गएर सानोतिनो व्यापार–व्यवसाय चलाउनु हुन्थ्यो । त्यसबेला रामेछाप जिल्लामा सोतर्मुमा, साँगुटार, कटहरे, भोटनागी, खिमती, कोलडाँडा, घ्याङडाँडा, सावाडाँडा, नामाडी, गणेशस्थान, अलामपुर, रामेछाप (भँगेरी) मा हाट बजार लाग्थ्यो ।

ती हाटमा बुवाले लगेका सामान खुबै विक्रि हुन्थ्यो । बुवा गाउँलेले ल्याएका सामान किन्नु पनि हुन्थ्यो । हाट बजारबाट फर्केपछि बन्द व्यापार र सामाजिक कामका कुराहरु गाउँलेहरुलाई सुनाउनु हुन्थ्यो, दुई चार जना जमघट हुने ठाउँ हाम्रै घर हुन्थ्यो । दुई चार रुपैयाँ चलाउन, खेलाउन हामीलाई अप्ठ्यारो थिएन ।

पूर्णबहादुर तामाङ

अहिलेको गोकुलगङ्गा गाउँपलिका वडा नम्बर १ चुचुरेमा हाम्रो घर छ । ५० वर्षअघि (२०२८ सालको जनगणना अनुसार) मेरो गाउँघर भएको चुचुरेमा १ हजार ८०६ जनसंख्या थियो भने अहिले (२०६८) ३ हजार २११ पुगेको छ । बुवा शेरबहादुर तामाङ सामाजिक काममा खुवै चासो दिनु हुन्थ्यो । तर काममा कति लाग्न भ्याउनु हुन्थ्यो, त्यो बेग्लै कुरा हो । उहाँले घर व्यवहार गर्दा सुनेका कुराहरुले मलाई सानैदेखि व्यापार व्यवसाय र सामाजिक काममा प्रेरित गरायो । हामी पाँच दाजुभाई सबै आफ्नो क्षेत्रमा स्थापित नै छौं । दाइहरु तीन जना नेपाल आर्मी हुनुहुन्थ्यो । मैले गत निर्वाचनमा नेपाली काँग्रेसबाट प्रतिनिधी सभाको उम्मेदवार बनेर चुनाव लड्ने अबसर पाएको थिएँ ।

रामेछापकाे मन्थली बजार

थोरै मतअन्तरले चुनाव हारें । काँग्रेसका संस्थापक सन्त नेता कृष्णप्रसाद भट्टाई भन्नु हुन्थ्यो– चुनावमा हारजीत हुन्छ, चुनाव हार्दैमा सिद्धान्त हारेको ठान्नु हुन्न । हुन पनि जीवनमा एक पटक मात्र चुनाव जित्नु भयो उहाँले । २०१५ सालको निर्वाचनमा गोरखाबाट चुनाव हार्दा पनि वीपी कोइरालाले उहाँलाई सभामुख बनाउनु भएको थियो । अर्थात अपरिहार्य व्यक्तित्व थियो उहाँको । एक पटकको चुनाव हार्दैमा मेरो समाजसेवी भावना हारेका छैनन्, मैले त पिता शेरबहादुर तामाङबाट सिकेको संस्कार भनेकै मानवीय सेवा हो, सामाजिक काम हो ।

मैले जनसेवाकै लागि १३ वटा एम्बुलेन्स र एउटा सव वाहन दान गरेको छु, ती एम्बुलेन्सबाट रामेछापमा विरामीले सेवा पाइरहेको सुन्न पाउँदा मलाई संसारको स्वर्गिय आनन्द प्राप्त हुन्छ । यो मेरो हृदयको कुरा हो । किन भने आफ्ना पिता–पूर्खा, बंशावलीको ज्ञान नराख्नेले भविष्य देखाउन सक्दैन भनेझैं रामेछाप र आफ्नो गाउँठाउँको बारेमा जानकारी राख्नु हाम्रो पहिलो कर्तव्य हो ।

यतिबेला हामी सबै लक डाउनका कारण घरमै छौं । कोरोना भाइरसका कारण कुनै सवारी साधन चलेका छैनन्, मुलुकको अर्थतन्त्रमा ठूलै असर परेको छ । यसर्थ जिल्लालाई आत्मनिर्भर बनाउन विगतको इतिहास कोट्याउनै पर्ने हुन्छ । विगतको अनुभवसँग बर्तमानको तुलना गरी भविष्यको योजना तर्जुमा गरियो भने हाम्रो समृद्धि टाढा छैन । हरेक जिल्लाले आफैं आत्मनिर्भर बन्ने योजना कार्यन्वयनमा ल्याउन सके भने मुलुक आत्मनिर्भर हुन्छ भन्ने कुरा हृदयमा राखी आजैबाट नयाँ ढंगबाट लाग्नु पर्छ  ।

त्यसैले आज मैले चर्चा गर्न खोजेको विषय रामेछापको विगत, वर्तमान र भविष्यको योजना सन्दर्भमा हो । आफूलाई लागेका केही विचारमाथि विवेचना गर्नमै यो लेख केन्द्रीत गरेको छु । मैले सुने अनुसार रामेछापलाई उहिले दुई नम्बर गौडाका नामले चिनाइन्थ्यो । दूई नम्बर गौडा भनिए पनि रामेछाप डाँडालाई मात्र संकेत गर्थ्यो त्यो नामले । रामेछापको पूर्वमा ओखलढुंगा र सोलुखुम्बु, पश्चिममा काभ्रेपलाञ्चोक, उत्तरमा दोलखा, दक्षिणमा सिन्धुली जिल्ला पर्छ । १ हजार ५४४ वर्ग किलोमिटरमा फैलिएको रामेछापको (२०६८ सालको जनगणना अनुसार अहिलेको जनसंख्या २ लाख २ हजार ६४६ छ ।

आजभन्दा करिव ५० वर्षअघि नै अर्थात २०२८ सालमा १ लाख ५७ हजार ३४९ जनसंख्या थियो । रामेछापको जनसंख्या बृद्धि नहुनुमा भौगालिक विकटतामात्र कारण छैन, रोजगारीको सम्भवनाको अभाव पनि हो । यहाँबाट बसाईं सरेर तराईका जिल्ला गएका छन्, माओवादीकालमा केही मान्छे विस्थापित पनि भए । पहिले रामेछाप जिल्ला मध्यमाञ्चल विकास क्षेत्रमा पर्दथ्यो, जहाँ १९ वटा जिल्ला समेटिएका थिए । अहिले बागमती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौसमेत १३ जिल्ला छन् । मध्यमाञ्चल विकास क्षेत्रका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला प्रदेश २ मा पारिएको छ ।

बागमती प्रदेशको २० हजार ३ सय वर्ग किलोमिटरमा करिव ५५ लाख २९ हजार ४५२ जनसंख्या मिलेरै बसेका छन् । रामेछापलाई हिमाली, लेकाली, पहाडी र बेंसीका रुपमा वर्गिकरण गर्न सकिन्छ । जिल्लाको सुदूर उत्तरी सिरानचोक लेकभन्दा उत्तरतिरको ४ हजार ८४८ मिटर उचाईंभन्दा माथिको भागलाई हिमाली भेगमा राख्न सकिन्छ । त्योभन्दा अग्लो नुम्बुर हिंचुलीको उचाईं ६,९५८ मिटर छ भने ६,२५८ को रामादिंचुली, ५,५०२ मिटर उचाईंको गोकुलचुली, ६,७५७ मिटर अग्लो लिखुचुली, ६,६७८ मिटर अग्लो गाकोशिरजस्ता हिमालहरुको पूर्वाधार विकास गर्दै हामीले प्रचार गर्ने गरी योजना बनाउनु पर्छ ।  

यी हिमालहरुलाई केन्द्रमा राखेर पर्यटनको आकर्षक ठाउँ बनाउने योजना पालिकाहरुले बनाउन सक्नु पर्छ । पाँच पोखरी, जटा पोखरी जिल्लाका प्रसिद्ध पोखरी हुन्, जहाँ मानव बस्ती छैन । नुम्बुर हिंचुली, रामादिंचुली, गोकुलचुली, लिखुचुली, गाकोशिर र सुर्मोचेजस्ता हिमाल हाम्रो रामेछापमै पर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । हामीसँग बहुमूल्य कुरा छन् तर तीनको सदुपयोग कसरी गर्ने भन्ने विशेष योजना छैन ।

जिल्लालाई आत्मनिर्भर बनाउन विगतको इतिहास कोट्याउनै पर्ने हुन्छ । विगतको अनुभवसँग बर्तमानको तुलना गरी भविष्यको योजना तर्जुमा गरियो भने हाम्रो समृद्धि टाढा पनि छैन ।

त्यस्तै जिल्लाको उत्तर–पूर्वी खाल्टेदेखि सिरानचोकसम्मको भागलाई अर्थात २,७०० मिटरसम्मको भूभागलाई लेकाली भेग भन्न सकिन्छ । ३,११२ मिटरको ताँवेडाँडा, ४,२५५ मिटरको सिरानचोक लेक, पश्चिमतिरको ३,१३८ मिटरको सैलुङ लेक प्रसिद्ध छ । यीनलाई आधार बनाएर योजना ल्याउन सकियो भने आन्तरिक पर्यटक थेग्न हामीलाई हम्मेहम्मे पर्छ । पहाडी भेग र बेशीको आफ्नो छुट्टै महत्व छ । १२ सय मिटरभन्दा तलतिरको भू–भागमा तामाकोशी, सुनकोशी, लिखु खोला, खिमती खोला, चौंरी खोला किनारका फाँटहरु, साँगुटार, मन्थली फाँट, च्याटीटार आदि अनेकौं धानखेती हुने टारहरु छन् । कृषिका लागि नयाँ प्रविधिको प्रयोग गर्दै उत्पादन बढाउनु पर्छ ।

पहाडी भेग भन्नाले १२ सय मिटरसम्मको भूभाग हो । मलिलो, उब्जाउपूर्ण र खेती योग्य भएकाले बाक्ला गाउँहरु पहाडी भेगमा छन् । रुपकोट, आमचौर, चिसापानी, थाकलेकको हावापानी अति नै राम्रो छ । सुनकोशी, तामाकोशी, मिलती खोला, खिमती खोला, लिखु खोला, खानी खोला, चौंरी खोला रामेछापलाई परिचय गराउने नदीहरु हुन् । यी खोलाबाट उत्पादित विद्युतबाट रामेछापले लाभ उठाउन सकेको छैन । स्थानिय जनताको अधिकार सुरक्षित गर्ने गरी परिवर्तित सन्दर्भ अनुकुलका योजना ल्याउन आवस्यक छ । स्थानिय जनताले उत्पादित विद्युतबाट लाभ लिन सक्ने आधारको खोजि गर्दै निर्माणाधिन नयाँ योजनमा स्थानियलाई शेयर वितरण गरिनु पर्छ भन्ने लाग्छ । किनभने स्थानिय जनता धनी नभइ नेपाल धनी हुनै सक्दैन ।

जटा पाेखरी

रामेछापबाट ९० किलोमिटर टाढाको बाटो काठमाडौ हिड्दै जान कुनै बेला ४, ५ दिन लाग्थ्यो, अहिले तीन घण्टामा काठमाडौ पुगिन्छ । यसलाई सुविधा मात्र नमानी आर्थिक उपार्जनको माध्याम बनाउन नगरपालिका र गाउँपालिकाहरुले योजना बनाउन सक्नु पर्छ । २०३०–३१ सालताका रामेछापको चिसापानीका तीन चार सय घरहरुमा खाँडीका कपडा बुनिन्थ्यो, आफूलाई पुगेर उब्रेको बजारमा लगेर बेच्ने चलन थियो । गुम्देल गाउँका शेर्पाहरु गलैंचा, राडी, पाखी, लुकुनी, कम्बल आदि बनाउँथे, अहिले त्यो चलन हराएको छ ।

उनीहरुमा व्यापार व्यवसाय गर्ने अभ्यास उतिबेलै थियो । ठोसे र साँगुटारको सानो बजारबाट मात्र ३ सय मेट्रीक टन सामान जिल्ला बाहिर जान्थ्यो । बाँकी भेरीका कुमालेहरु माटाका भाँडा बनाउनमा प्रसिद्ध थिए । ठोसेको फलाम खानी उतिबेला प्रसिद्ध थियो तर धाउ पगाल्दा जंगल नास भएकाले बन्द गरियो । अहिले सम्भवना खोज्न सकिन्छ नि, हैन र ? खुर्कोट–रामेछाप–मन्थलीको बाटो भएर एक वर्षमा २ हजार २८० जना व्यापारी हिड्थे भन्ने कुरा १९७१ मा प्रकाशित तामाकोशी–खिम्ति सडक आयोजनको प्रतिवेदनमा उल्लेख छ ।

करिव २६ हजार मान्छे त हाट बजारका लागि हिड्थे । यो सडकमा वर्षभर ६२ हजार ५० जना मान्छे एकातर्फ मात्र हिड्थे, अहिले सायद एक सातामा हिड्छन् । हामीले पुरानो हाम्रो परम्परा खोजी गरी आधुनिक ढंगले काम गर्ने प्रयास गर्नुको अर्को विकल्प छैन । हामीले जनसंख्या बृद्धिको आधारमा कम्तिमा ५० वर्षका लागि आत्मनिर्भरता सहितको व्यवहारिक योजना अगाडी सार्नु पर्छ । अन्यथा जुन जोगी आए पनि कानै चिरेको भनेझै हुन्छ । राजनीति गर्नेहरुप्रति अनास्था पैदा हुन्छ । अन्ततः अनास्थाले व्यवस्थालाई नै चुनौती दिन्छ । यसर्थ रामेछापका दुई नगरपालिका र छ गाउँपालिकाले लोकतान्त्रिक व्यवस्थाको गरिमा बढ्ने गरी काम गरेर देखाउन सक्नु पर्छ ।

अन्तमा मैले भन्नै पर्छ– गत निर्वाचनमा रामेछाप जिल्लामाथि अन्याय भएको छ । जनसंख्यालाई मात्र आधार बनाइँदा रामेछापमाथि अन्याय भएको हो । ४१३ वर्ग किलोमिटरमा फैलिएको ललितपुरमा ३ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । जवकि रामेछाप जिल्ला १,५४४ वर्ग किलोमिटरमा फैलिएको छ । जिल्लाका सबै वडा पुग्ने हो भने कम्तिमा २०,२५ दिन लाग्छ । रामेछापभन्दा कैयौं गुना सानो भक्तपुरमा दुई वटा निर्वाचन क्षेत्र कायम छ । भक्तपुरको क्षेत्रफल ११९ वर्ग किलोमिटर छ । १.६ किलोमिटर पूर्व–पश्चिम र उत्तर–दक्षिण ११.२ किलोमिटर रहेको भक्तपुर जिल्ला एक दिनमा पुरै घुम्न सकिन्छ । रामेछापभन्दा एक सय वर्ग किलोमिट सानो काभ्रेमा दुई वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । यसर्थ यो विभेद सच्याइनु पर्छ ।
(तामाङ काँग्रेस महासमिति सदश्य तथा नेपाली काँग्रेसले हालै गठन गरेको लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिको सदस्य हुनुहुन्छ)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *