वीपी प्रतिष्ठानको फार्मेसी व्यवस्थित गर्न समिति

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा रहेको फार्मेसी व्यवस्थित तवरले सञ्चालनका लागि समिति गठन गरीएको छ ।

करिब अढाई वर्ष अघिबाटै सञ्चालनमा आएको फार्मेसी अव्यवस्थित हुँदा प्रतिष्ठानले आम्दानी गर्नुको सट्टा दैनिक घाटा ब्यहोर्दै आएको थियो । प्रतिष्ठानमा एक महिना अघि उपकुलपति भएर आएका डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानको आम्दानी बृद्धि गर्न र बिरामीलाई सर्वसुलभ औषधी उपलब्ध गराउन फार्मेसीलाई व्यवस्थित गर्ने भएका हुन् ।

यसकालागि प्रतिष्ठानले स्त्री तथा प्रसुति विभागका विभागीय प्रमुख एशोसिएट प्रोफेसर डा. मोहनचन्द्र रेग्मीको संयोजकत्वमा कमिटि समेत गठन गरीएको छ । हिजो गठन गरीएको समितिको सह–संयोजकमा डेपुटि अस्पताल निर्देशक डा. दिलिप ठाकुर छन् । सदस्य सचिवमा फर्माकोलोजी विभागका असिस्टेन्ट प्रोफेसर डा. भावेश कोइराला रहेका छन् ।

सदस्यहरुमा हाडजोर्नी विभागका असिस्टेन्ट प्रोफेसर डा. प्रमोद बराल तथा आर्थिक प्रशासन महाशाखा प्रमुख र खरिद शाखा प्रमुख पदेन सदस्य रहने छन् ।

प्रतिष्ठानले २०७४ चैत्र १९ गतेदेखी फार्मेसी सञ्चालनमा ल्याएको भए पनि विविध कारणले फार्मेसी राम्ररी चल्न सकेको थिएन । गठित समितिले फार्मेसीलाई व्यवस्थित गर्ने, आवश्यक औषधीहरु ल्याउने लगायतका काम गर्नेछ ।

प्रतिष्ठानका उपकुलपतिले केही समय अगाडी फार्मेसी सञ्चालन र व्यवस्थापन कसरी गर्ने विषयमा अध्ययन गर्न हाडजोर्नी विभागका प्रमुख तथा कार्यकारीणी समिति सदस्य डा. पशुपति चौधरीको संयोजकत्वमा समिति बनाएका थिए । उक्त समितिले अध्ययन गरि प्रतिवेदन बुझाएपनि फार्मेसी सञ्चालनका लागि समिति गठन गरीएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *