वीपी प्रतिष्ठानमा भोलीबाट ओपीडी सुचारु हुँदै, सामान्य विरामी रिफर नगर्न आग्रह

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भोलीबाट ओपीडी सेवा सुचारु गर्ने भएको छ । कोरोना भाइरस संक्रमण जोखिमका कारण बन्द भएको प्रतिष्ठानको जनरल ओपीडी सेवा भोलीबाट सतर्कताका साथ सञ्चालन गर्ने प्रतिष्ठानले जनाएको छ ।

संक्रमण एक अर्कामा नफैलियोस भनेर प्रतिष्ठानले सामाजिक दुरी कायम राख्दै ओपीडी शुरु गर्ने भएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर शाहले बताएका छन् ।

प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीलाइ निर्देशन दिँदै अस्पताल निर्देशक डा. गाैरीशंकर शाह । तस्विरः महेश्वर राइकाे फेसवुक पेजबाट

शाहका अनुसार भोलीबाट शुरु हुने ओपीडीमा आउने सेवाग्राहीलाई प्रतिष्ठानको मेन गेटबाटै टोकन वितरण गरिनेछ । सोहि टोकनका आधारमा विरामी दर्ता गरी ओपीडी कार्य उपलब्ध गराईनेछ । प्रत्येक विरामी र भिजिटरले प्रतिष्ठान प्रवेश गर्दा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने छ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानमा आएका विरामी तथा उपचारमा संलग्न कसैलाई जोखिम नहुने गरी ओपीडी सुचारु गरिने बताए । ‘कोरोना महामारीबाट कसरी सुरक्षित रहने सम्पूर्ण सावधानी अपनाएर ओपीडी सुरु गर्न लागिएको हो ।’ उनले भने ।

प्रतिष्ठानका चिकित्सक, कर्मचारीको स्वास्थ्य सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाएर ओपीडी सञ्चालन गर्न लागिएको डा. गिरीको दावि छ । ‘यो निर्णय सम्पूर्ण विभागीय प्रमुख, चिकित्सक तथा कर्मचारीहरु सँगको छलफलबाट गरीएको हो ।’ उनले भने ।–‘प्रत्येक डिपार्टमेन्टले भने अनुसार सुरक्षा सामग्रीहरु उपलब्ध गराइएको छ । धेरै जोखिम भएका ठाउँमा पिपिई लगाएर हेर्ने, कम जोखिम भएका स्थानमा पनि मास्क, पञ्जा तथा अन्य सुरक्षाका सामग्री लगाएर मात्र विरामी जाँच्न भनिएको छ ।’

प्रतिष्ठानले ओपिडी मात्र हैन अस्पतालका अन्य सेवाहरु क्रमिक रुपमा सुचारु गर्ने रणनीति अपनाएको छ ।

उपकुलपतिले आज प्रतिष्ठानमा भर्ना भएकी महिलालाई कोरोना संक्रमित नर्सले रिफर गरेको पाइएपछि उनको उपचारमा संलग्न चिकित्सक तथा प्रतिष्ठानमा उनीसँग सम्पर्कमा आएका सबैको कोरोना परीक्षण भएको बताए । ‘पिसिआरको रिपोर्ट नआउञ्जेल सेवाहरु बन्द गरीएको हो । ११, १२ बजेसम्म रिपोर्ट आउँछ । रिजल्ट नेगेटिभ आए सबै सेवा सुचारु हुन्छ । पोजेटिभ आएपनि सबैलाई कोभिड अस्पतालमा राखेर उपचार हुन्छ ।’ डा. गिरीले भने ।

सामान्य विरामी रिफर नगर्न आग्रह

प्रा.डा. ज्ञानेन्द्र गिरी, उपकुलपति, वीपी प्रतिष्ठान

अहिले देशभरका स्वास्थ्य संस्थाहरुले ओपीडी समेत बन्द गरेर विरामी उपचार नगरेर रिफर गर्ने क्रम बढेकोले त्यसको प्रत्यक्ष असर वीपी प्रतिष्ठानलाई परेको छ ।

प्रदेश १ सँगै प्रदेश २ का जनकपुर, सप्तरी, सिराहाबाट समेत विरामी प्रतिष्ठानमा विरामी रेफर गर्नाले प्रतिष्ठानमा चाप बढेको छ । यसरी सामान्य प्रकारका विरामी समेत प्रतिष्ठान आउँदा गम्भिर प्रकारका विरामीको उपचारमा असर परेकोले प्रतिष्ठानले अत्यावश्यक वाहेकका विरामी रिफर नगर्न अनुरोध गरेको छ ।

‘अहिले १ नं. प्रदेशबाट मात्र हैन २ नम्बर प्रदेशका सप्तरी, जनकपुरबाट समेत अननेसेसरी विरामी रिफर भएका छन् । सामान्य प्रकारका विरामी रिफर नगरौं, सबैले आ–आफ्नो दायीत्व निर्वाह गरौं ।’ डा. गिरीले भने । उनले सामान्य विरामी रिफर नगर्न प्रदेश सरकारका मुख्यमन्त्री, स्वास्थ्यमन्त्री सम्मलाई अनुरोध गरीएको पनि जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *