काेराेना उपचारमा नेककाे नयाँ कामः अब बिरामीलाई औषधी ‘डेलिभरी रोवोट’ ले पुर्याइदिने

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) का शिक्षक तथा विद्यार्थीहरुले ‘डेलिभरी रोवोट’ बनाएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई हस्तान्तरण गरेका छन् ।

आज एक कार्यक्रमका विच नेकका बोर्ड अध्यक्ष चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले ‘डेलिभरी रोवोट’ अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई हस्तान्तरण गरे ।

अस्पताललाई प्रदान गरीएको उक्त रोवोटले रिमोट सिस्टम मार्फत अस्पतालमा रहेका विरामीहरुलाई औषधि, पानी, खानालगायतका सामानहरु दिन प्रयोग गर्न सकिन्छ ।

रोवोटको प्रयोगले रिसेप्सनमा हुने नर्सहरुलाई विरामी भएका स्थानसम्म औषधि, पानी, खाना पुर्याउन जान नपरी सम्भावित संक्रमितबाट जोगाउन सहयोग गर्ने नेकका प्राचार्य हरिकृष्ण श्रेष्ठले जानकारी दिए । ‘अहिले यसलाई कोरोना भाइरसको उपचारका लागि अस्पतालमा रहेका विरामीलाई औषधी, खाना तथा अन्य आवश्यक सामग्री पुर्याउन प्रयोग गर्न सकिन्छ ।’ उनले भने ।

नेकले बनाएको रोवोटसँग ३० किलोग्रामसम्म सामान बोक्न सक्ने क्षमता छ । कलेजका अनुसार रोवोटले औषधि र खानाबाहेक अरु आवश्यक सरसामानहरु पनि वोक्न सक्छ । करिव २५ हजारको लागतमा तयार पारिएको रोवोटलाई म्यानुल (रिमोट कन्ट्रोल) बाट चलाउन सकिनेछ । अस्पतालको रिसेप्सनमा बसेका एकजना नर्सले रिमोटबाट आवश्यकता अनुसार विरामीसम्मलाई आवश्यक औषधि, पानी, खानालगायतका सामान पुर्याउन सक्नेछन् ।

उक्त रोवोटलाई टेकू अस्पतालको आइसोलेशन वार्डमा प्रयोग गरिने छ । हस्तान्तरणसँंगै रोवोटको प्रयोग गर्ने नर्सहरुलाई रोवोट बनाउने शिक्षक तथा विद्यार्थीको समूहले रोवोट सञ्चालन सम्वन्धि जानकारी अभ्यास मार्फत सिकाएका थिए ।

झण्डै आधा दर्जन नर्सहरु रोवोट सञ्चालन गर्न समक्ष भएपछि रोवोट अस्पतालमा छोडिएको थियो । उक्त रोवोटलाई अस्पतालको आइसोलेसन वार्डहरुमा लगेर डेमोसमेत गराइएको थियो ।

रोवोट सञ्चालनका क्रममा कुनै प्राविधिक समस्या आइपरेमा निर्माण कार्यमा सहभागी प्राध्यापक तथा विद्यार्थीको टोलीले बनाइदिने सहमति भएको छ । उक्त सहमति पत्रमा कलेजको तर्फबाट कलेजका प्राचार्य हरिकृष्ण श्रेष्ठ र अस्पतालको तर्फबाट अस्पताल प्रशासन शाखाका शाखा अधिकृत रुपनारायण खतिवडाले हस्ताक्षर गरेका छन् ।

टेकू अस्पतालको ट्रली सहयोगबाट कलेजका चार प्राध्यापक र चार विद्यार्थी गरी आठ जनाको समूहले रोवोट तयार पारेको थियो । कलेजका सहायक प्राध्यापक रुपेशदही श्रेष्ठ, दिनेश डंगोल सचिन श्रेष्ठ र अभिनास खत्री केसी तथा विद्यार्थीहरु उत्सव खड्का, सरोज चौधरी, राजु श्रेष्ठ र कुमार श्रेष्ठले उक्त रोवोटको निर्माण गरेका हुन् ।

हाललाई एउटा मात्रै रोवोटको विकास गरिएको कलेजका प्राचार्य श्रेष्ठले जानकारी दिए । उनका अनुसार सामाजिक उतरदायित्व अन्तरगत उक्त रोवोट तयार गरीएको हो । साथै श्रेष्ठले आगामी दिनमा सरकारलाई चाहिने यस्ता सामग्रीहरु पुनः तयार गर्नुपर्ने भए कलेज तयार रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *