सञ्चारक्षेत्रमा देखा परेको विषम परिस्थिति प्रति पत्रकार महासंघ सुनसरीद्धारा छलफल

धरान । कोरोना भाईरसका कारण भईरहेको क्षतिमा मिडिया हाउस त्यहाँ कार्यरत सञ्चारकर्मीहरुलाई सावधानी अपनाउन पहल गर्नुका साथै उत्पन्न समस्या समाधानको विषयमा नेपाल पत्रकार महासंघ सुनसरीले छलफल गरेको छ ।

कोरोना संक्रमणको विषम परिस्थितिमा मिडिया क्षेत्रमा आइपरेको समस्या हल गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले बताए ।

खडकाका अनुसार कोरोनाको जोखिममा मिडिया हाउस तथा सञ्चारकर्मीहरुले आफनो कर्तव्य निर्वाह गर्दै समाजलाई सुसचित गरिरहेको अवस्थामा सञ्चारगृह र सञ्चारकर्मीहरु सहज रुपमा काम गर्ने बातावरण बनाउन स्थानीय तहसँग पहल गर्ने निर्णय भएको छ ।

पेपर मिडियाहरुलाई अनलाईन मिडियामा लान महासंघले सहजिकरण गर्नुपर्ने, सरकारले मिडिया हाउसले तिर्नुपर्ने कर तथा दस्तुरहरुमा सुविधा दिनुपर्ने, मिडियाकर्मीहरु पनि सचेत र सावधानी अपनाएर समाचार संकलन गर्नुपर्ने छलफलमा सुझाव आएको अध्यक्ष खड्काले बताए ।

यसैगरी छलफलले स्थानीय तह, प्रदेश सरकार र अन्य सहयोगी निकायहरुसँंग समन्वय गरेर मिडिया हाउसहरुलाई लोक कल्याणकारी विज्ञापन र मिडियाकर्मीहरुलाई फेलोसिपको व्यवस्थाका लागि पहल गर्ने निर्णय गरेको छ । महासंघ सुनसरीको सभाहलमा चलेको छलफलमा धरानका मिडिया हाउस सञ्चालक तथा त्यहाँ कार्यरत मिडियाकर्मीहरु गरी करिब ३० जनाको उपस्थिति थियो ।

धरान उपमहानगरपालिकाको बैठक

एता बुधबार धरान उपमहानगरपालिका नगर कार्यपालिकाले कोभिड १९ को रोकथाम नियन्त्रण तथा उपचार र यस सम्बन्धमा धरानमा गर्ने कार्यक्रमको बारे बैठक बसी निर्णयहरु गरेको छ ।

प्रदेश नं १ का आन्तरिक तथा कानुनमन्त्री हिक्मत कार्कीको उपस्थितिमा भएको बैठकमा धरानमा रहेका क्वारेन्टाईनलाई कसरी व्यवस्थित गर्ने र लकडाउनलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल भएको धरान उप–महानगरपालिका सूचना अधिकृत खगेन्द्र प्रसाद खतिवडाले बताए ।

बैठकमा धरान उप–महानगरपालिकाका नगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साह, विभागीय प्रमुख डा. सञ्जिवकुमार शर्मा, श्रीकृष्ण दल सुनसरीका प्रमुख सेनानी अनन्त बहादुर सिंह, श्री काली शक्ति गण (ई) याङशिलाका प्रमुख सेनानी प्रशान्त बज्रचार्य, शसस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकाल, जिप्रका सुनसरीका प्रहरी उपरिक्षक कमल थापा, अपराध अनुसन्धान निर्देशक सुनसरीका तुलसी प्रसाई, शसस्त्र प्रहरी बल सुरक्षा पोष्ट धरानका डिएसपी राजेन्द्र कुमार श्रेष्ठ, इप्रका धरानका डिएसपी ढुण्डीराज ढकाल, इलाका प्रशासन कार्यालय धरानका कार्यालय प्रमुख चन्द्र कार्की लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *