बजेटका प्रमुख प्राथमिकता रोजगारी र उत्पादन हुनुपर्छः गोकर्ण विष्ट

काठमाडौं। नेकपाका सांसद गोकर्ण विष्टले कोरोना भाइरसको प्रकोपपछि शिथिल अर्थतन्त्र पुन जागरण गराउने गरी बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारलाई सुझाव दिएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद विष्टले बजेटलाई चलायमान बनाउने गरी बजेटका प्राथमिकता तोक्न सुझाव दिए।

कोरोना संकटले सबैभन्दा बढी श्रमिकहरूको जीवनमा प्रभाव पार्ने भएकोले श्रमिकको उत्पादकत्वमा वृद्धि र रोजगारीका अवसर सिर्जना गर्नेतर्फ बजेट लक्षित हुनु पर्ने उनले बताए। विष्टले बजेटमा चार प्राथमिकता तोकेका छन्। कोरोना रोकथाम, नियन्त्रण र उपचार, खाद्य सुरक्षा, रोजगारी र शिक्षामा आइटीको पहुँचलाई प्राथमिकतामा राखेका छन्।

उनले विशेष गरी रोजगारी सिर्जना गर्न सरकारले कृषिमा उत्पादन, कृषिमा आधारित उद्योग व्यवसायमा जोड दिनु पर्ने आवश्यकता ‌औंल्याए। कोरोना संकटपछि उत्पादनमा आउने ह्रासले आउँदो वर्ष खाद्य सुरक्षामा ठूलो संकट पैदा गर्ने तर्फ पनि सरकारलाई सचेत गराए। अहिलेको चुनौती कोरोना संकट रहेको उल्लेख गर्दै उनले यस संकटलाई स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र स्थापना गर्ने अवसरका रूपमा प्रयोग गर्न सरकारसँग आग्रह गरे।

उनले बाह्य उत्पादन भन्दा आन्तरिक उत्पादनलाई प्राथमिकता दिन आग्रह गरे। बाह्य उत्पादनमा कर वृद्धि गरी आन्तरिक उत्पादनलाई संरक्षण र सहुलियत प्रदान गर्ने नीतिमा जोड दिनु पर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *