अखिल क्रान्तिकारीद्वारा भारतीय अतिक्रमणविरुद्ध आन्दोलनको घोषणा, लकडाउनकैबीच मोदी र ओलीको पुत्ला जलाइँदै

काठमाडौँ । अखिल क्रान्तिकारीले लिपुलेक, कालापानी क्षेत्र मिचेर भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउनेसहितका संघर्षका कार्यक्रम घोषणा गरेको हाे ।

अखिल क्रान्तिकारीका उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले शुक्रबार विज्ञप्ति जारी गरेर नेपाली भूमी मिचेर भारतले सडक निर्माण गरिएकोप्रति आपत्ति जनाए । उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि विश्व लकडाउन भएको मौका छोप्दै भारतले नेपाली भूमी मिचेर चीनको सीमा मानसरोबर जोड्ने सडक निर्माण गरेर नांगो हस्तक्षेपलाई बढाएको बताए ।

‘कारोना महामारीका कारण बिश्व लकडाउनमा रहेको मौका छोपी नेपालको लिपुलेक, कालापानी क्षेत्रमाथि भारतीय साम्राज्यवादद्वारा नेपालको राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेपलाई अरु बढाएको छ । गत कार्तिक महिनामा भारतद्वारा लिपुलेकको ३७२ वर्ग किलोमिटर सीमा अतिक्रमण गरेपछि नेपालका सबै देशभक्त तथा राष्ट्रवादीहरु आन्दोलित भइरहेको बेला फेरि भारतीय शासक वर्गले मानसरोबर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत उक्त सडकको उद्घाटन गरेका छन । यो नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्बभौम सत्तामाथिको नांगो हस्तक्षेप हो’, विज्ञप्तिमा भनिएको छ ।

बिकले भारतले आफ्नो भूमिमा सडक निर्माण गरिसक्दा पनि नेपाली दलाल शासकहरुले आफूलाई थाहै नभएको भन्दै निर्लज्जता प्रदर्शन गरिरहेको बताए ।

भारतले नेपाली भूमी मिचेर चीनसम्म जोड्ने सडक निर्माण गर्दा पनि नेपाली शासकहरुले चालै नपाएको बताउनु र नागरिक सडकमा आइसक्दा पनि सरकारले औपचारिकतामा सिमित भएको बिकले बताएका छन् । उनले समस्या साधानको कुनै पहल नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीका राष्ट्रवादी मुकुण्डो च्यातिएको बताए ।

‘भारतीय अतिक्रमणका विरुद्ध चौतर्फि जनदवाव बढ्रन थालेपछि परराष्ट्र मन्त्रालयमार्फत हस्ताक्षरविनाको काइते विज्ञप्ति निकालेर झारा टार्ने काम भएको छ । यसले नेपाली शाकहरुको असली हैसियता देखाएको छ । नागरिकहरु लकडाउनलाई तोडेर सडकमा आइसक्दा पनि केपी सरकारले औपचारिकता बाहेक समस्या समाधान हुने गरि कुनै पहल गरेको छैन । यसले ओलीको राष्ट्रवादी मुकुण्डो च्यातिएको छ’ विज्ञप्तिमा उल्लेख छ ।

अखिल क्रान्तिकारीले कालापानी, लिपुलेक क्षेत्रमाथिको हस्तक्षेपबिरुद्ध कार्तिक २४ गते काठमाडौँमा विरोध गर्दा ४२ जना नेताकार्यकर्तामाथि झुटा मुद्दा खेपिरहेको बेला अतिक्रमण बढेकोले पुनः आन्दोलनमा जान बाध्य भएको बताएको छ । विज्ञप्तिमा बैशाख ३१ गतेसम्मका संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ ।

यस्ता छन् संघर्षका कार्यक्रमहरुः
बैशाख २७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने,
बैशाख २८ गते लिपुलेक समेटिएको भारतीय नक्सा जलाउने,
बैशाख २९ गते देशभक्त तथा राष्ट्रवादीहरु सहितको संयुक्त बिरोध प्रदर्शन
बैशाख ३० गते मशाल जुलुस,
बैशाख ३१ देखि भारतीय नम्बर प्लेटका गाडीहरु सञ्चालनमा प्रतिबन्ध लगाउने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *