राप्ती प्रतिष्ठानलाई एनएमएफले दियो ६८ लाख सहयोग

काठमाडौं । अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) ले दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयू उपकरण खरिदका लागि ६८ लाख २५ रुपैयाँ नगद सहयोग गरेको छ ।

नेपालको स्वास्थ्य सेवाको विस्तार र विकासमा प्राविधिक एवं आर्थिक सहयोग उपलब्ध गराउँदै आएको एएनएमएफले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघन उपचार सेवा विस्तारका लागि उक्त रकम सहयोग गरेको हो ।

फाउन्डेसनका अध्यक्ष डा. भूपेन्द्रकुमार बस्नेतले बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उक्त चेक हस्तारन्तरण गरेका थिए । त्यसपछि मन्त्री ढकालले सो चेक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकूलपति प्रा.डा. संगीता भण्डारीलाई हस्तान्तरण गरेका छन् ।

उक्त रकमबाट प्रतिष्ठानले मेनिटर, भेन्टिलेटर, इजीसी मेसिन, आइसियु बेड र डिफिबिलेटर खरिदमा खर्चिने फाउण्डेशनका अध्यक्ष डा. बस्नेतले बताए ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपाल छोडेर गएका र नेपाल फर्केका समेत चिकित्सकले संकटको समयमा देशलाई सम्झेर गरेको सहयोग अर्थपूर्ण भएको बताए ।

प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले मध्यपश्चिम क्षेत्रकै प्रमुख स्वास्थ्य संस्था भएर पनि राप्तीमा सघन उपचार सेवा नहुँदा धेरै बिरामीले एम्बुलेन्समै ज्यान गुमाउनु परिरहेको अवस्थामा एएनएमएफको आर्थिक सहयोगले प्रतिष्ठानको विकासमा ठूलो टेवा पुग्ने बताइन् ।

गोरखा भूकम्पपछि नेपालका विभिन्न स्थानमा स्वास्थ्य संस्था स्थापना, आईसीयू सेवा विस्तार र अक्सिजन प्लान विस्तारमा फाउन्डेसनले सहयोग गर्दै आएको डा. बस्नेतले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *