लकडाउनकै अवस्थामा भोलीबाट संसदको बजेट अधिवेशन, कस्तो छ तयारी ? सांसदहरुले केके लैजान पाउँदैनन् ?

काठमाडौं । सरकारले भोली शुक्रबारबाट संघीय संसदको बजेट अधिवेशन बोलाएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा भोली दिउसो ४ बजेबाट शुरु हुने बजेट अधिवेशनमा भाग लिने सांसदहरुको आज स्वास्थ्य परीक्षण भइरहेको छ ।
कोरोना भाइरस संक्रमण रहेको नरहेको यकीन गर्न संघीय संसदका सबै सांसदहरुको पिसिआर लिने काम भइरहेको संसद सचिबालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार जिल्लाजिल्ला पुगेका सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरुलाई स्वास्थ्य परीक्षण पछि मात्र संसद भवनमा प्रवेश गर्न दिइने छ ।

आज विहान १० बजे राष्ट्रिय सभाका ५९ सांसदहरुलाई स्वास्थ्य परीक्षण गर्न बोलाइ सकिएको छ । प्रतिनिधिसभाका सांसदहरुको विहान ११ बजेबाट पिसिआर प्रविधिबाट कोरोना परीक्षण भइरहेको संसद सचिबालयका सचिब गोपालनाथ योगीले जानकारी दिए ।

 उनीहरुको संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षण भइरहेको संसद सचिबालयका सूचना अधिकारी दशरथ धमलाले बताए । सबै सांसदहरुको एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ ।

संसद भवनमा कार्यरत कर्मचारीहरुको समेत कोरोना परीक्षण हुने बताइएको छ । सांसदहरुको स्वाब संकलनपछी, मर्यादापालक, कर्मचारी तथा पत्रकारहरुको समेत स्वाब संकलन गरीनेछ ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेपछि स्वास्थ्य मन्त्रालयले सचिवालयमा भएका चिकित्सकहरुका अतिरिक्त समेत थप गरेर कोरोना परीक्षण गरीरहेको छ ।

अहिलेसम्म प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठ, प्रदीप ज्ञवाली, राजेन्द्र महतो, शशांक कोइराला, सुवास नेङवाङ, कोमल वली, मातृका यादव, पम्फा भुसाल लगायत सांसदहरुको कोरोना स्वाब लिइसकीएको छ ।

संसद बैठक स्थलमा सांसद–सांसदमा बस्ने दुरी पनि कायम गरिएको छ । सांसदहरु दुइ दुई वटा कुर्सीको दुरी कायम गरेर बस्नेछन् । साथै संसदमा उपस्थित हुने सांसदहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, ज्वरो नाप्नु पर्ने भनिएको छ । संसदका हरेक टेवुलमा सेनिटाइजर उपलब्ध गराइएको छ । माइक लिएर बोल्दा हरेक पल्ट सेनिटाइजरले माइक सफा गनुपर्छ ।

संसद भवनमा प्रवेश गर्दा सांसदहरुले चस्मा लगाएर संसदमा प्रवेश गर्न पाउने छैनन्, साथमा कलम, डायरी, औषधी समेत लान पाइने छैन ।

प्रधानमन्त्री संसद बैठकमा उपस्थित हुँदा उनको वरपर सांसदहरुको उपस्थिति रहने छैनन् । संसद सचिबालयका अनुसार प्रधानमन्त्री बस्ने छेउका वरपर १२ वटा कुर्सी खाली रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *