स्थायी समितिका एजेण्डाबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधवार बस्दैछ। बिहीबार सुरु हुने पार्टी स्थायी समितिमा पेस गर्ने एजेण्डाबारेमा छलफल गर्न बुधवार सचिवालय बैठक बस्न लागेको हो।

शनिवार बसेको सचिवालय बैठकले वैशाख २४ गते सचिवालय र २५ गते पार्टी स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो। उक्त बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले २४ गते दिउँसो ३ बजे सचिवालय बैठक बस्ने निर्णय सुनाएका थिए। सोही निर्णय अनुसार बुधवार सचिवालय बैठक बस्दैछ।

पछिल्लो समय अध्यादेश प्रकरणले नेकपाभित्रको वेमेल सतहमा ल्याएको थियो। सचिवालय बैठकमा प्रधानमन्त्रीले आत्मालोचना गरेर अब मिलेर अघि बढ्न प्रस्ताव गरेपछि उक्त विवाद मत्थर भएको भनिएको छ। तर पछिल्लो समय शक्ति बाँडफाँट, स्थायी समितिको एजेण्डा, बैठक कति लामो बनाउने, कसरी छलफल गराउने भन्ने विषयमा दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा विवाद बल्झिने संकेत देखिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकमा यी विषयमा नेताहरूले छलफल हुने छ। शनिबारको सचिवालय बैठकपछि नेताहरूले आन्तरिक छलफल र भेटघाटलाई तीव्र बनाएका थिए। स्थायी समिति बैठकका लागि रणनीति तय गर्न पार्टी शीर्ष नेता देखि केन्द्रीय सदस्यहरू पार्टीभित्र सक्रिय भएका छन्। शीर्ष नेताहरूले पनि गुटगत भेला गरिरहेका छन्।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समिति बैठकका एजेण्डामा शीर्ष पार्टी नेताहरुलाई बालुवाटार बोलाएर फकाउने प्रयास गरिरहेका छन्। पार्टीलाई एकताबद्ध बनाएर लैजाने भनेर यसअघिको सचिवालय बैठकमा निर्णय भए पनि नेताहरू स्थायी समितिको बैठकमा छलफल गर्नुपर्ने एजेण्डामा सहमत हुन सकिरहेका छैनन्। अध्यादेश जारी भएपछि नेकपामा २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई लिखित अनुरोध समेत गरेका थिए।

नेकपाको ४५ सदस्यीय स्थायी समितिमा अहिले ४४ जना छन्। अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भएपछि स्थायी समितिको सङ्ख्या ४४ भएको हो। आजको सचिवालय बैठकमा नेताहरूले सहमतिका आधारमा नै स्थायी समितिको बैठकमा छलफल गर्ने एजेन्डा तय गर्ने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *