चिन्ता हैन, साबधानी अपनाउँ, नेपालमा कोरोना संक्रमणको अवस्था भयाबह छैन

आजसम्म नेपालमा ८२ जना कोरोना संक्रमित पत्ता लागेका छन् । एक हप्ता पहिले उदयपुर इपिसेन्टर देखिएको थियो भने अहिले नेपालगञ्ज देखिएको छ । यसले आम मानिसमा चिन्ता बढाएको छ । मैले गरेको अध्ययन अनुसन्धानले नेपालको स्थिति यस्तो छ ।

नेपालमा कोरोना संक्रमणको पहिलो केस देखिएको साँढे ३ महिना भयो । यो अबधिमा ६ बर्षको बालिकादेखि ८१ बर्षकी हजुरआमा संक्रमित भएका छन् । ६५ बर्षकी दीर्घ रोग भएकी बाग्लुङ्गकी आमा पनि संक्रमित हुनुभएको छ । खुसीको कुरा के छ भने एक जना संक्रमितलाई पनि आइसीयुमा राख्न परेको छैन, भेन्टिलेटर प्रयोग गर्नुपरेको छैन । कसैको पनि मृत्यु भएको छैन । २-३ वटा केस बाहेक अरु संक्रमितमा कुनै पनि लक्षण देखिएको छैन । कोहि पनि गम्भीर भएका छैनन् ।

बिरामी भएर तथा अस्पताल पुगेर जाँच गर्दा कोरोना संक्रमण देखिएको छैन । विदेशबाट आएका केहि संक्रमित आफैं कोरोना संक्रमण टेस्ट गर्न अस्पताल गएका थिए भने अधिकांश संक्रमितलाई स्थानीयको उजुरीको आधारमा, क्वारेन्टाइनमा बसेका मध्ये परीक्षण गर्दा तथा कन्ट्याक्ट ट्रेसिंगको आधारमा रोग पत्ता लगाइएको छ । एकै परिवारमा कोहि संक्रमित छन्, कोहि संक्रमित छैनन् ।

कोरोना संक्रमण भित्रभित्रै भुसको आगो भएको छ कि भन्ने शंका ब्यापक छ । तर यो सत्य होइन । संक्रमण धेरै फैलिएको भए उपचार खोज्ने, अस्पताल जाने, आइसीयुमा भर्ना हुने तथा मृत्यु हुनेको संख्या बढ्ने थियो । यसबाट भन्न सकिन्छ कि संक्रमित छन्, तर ठूलो संख्यामा छैनन् ।

नेपालमा देखिएको कोरोना संक्रमण अरु देशमा भन्दा फरक छ । मलाइ लाग्छ, हामी कहाँ आएको कोरोना भाइरसको स्ट्रेन निकै कमजोर छ । हाम्रो हावापानी, खानपिन, परम्परा आदिको कारण पनि यहाँको कोरोना भाइरस घातक नदेखिएको हुनसक्छ ।

नेपालका अनुसन्धानकर्ताले हामीकहाँ देखिएको कोरोना भाइरसको जिनम टेस्ट गर्न बाहिर पठाउनु पर्दछ । यसबाट थाहा हुन्छ कि अमेरिका, बेलायत, युरोप आदि देशमा फैलिएको कोरोना भाइरस र नेपालमा देखिएको कोरोना भाइरस एकै प्रजाति हो कि फरक हो ? भन्ने तथ्य ।

उदयपुर, बिरगंज र नेपालगञ्जमा एकै समुदायमा धेरै संक्रमित छन् । यसको कारण सामाजिक दुरी कायम नभएकोले मात्र हो कि अन्य कुनै जेनेटिक कारण छ ? यसको अनुसन्धान हुनु जरुरी छ ।

विश्व तथ्यांक हेर्ने हो भने, WHO, CDC आदिको रिपोर्ट हेर्ने हो भने एकजना संक्रमितले २ देखि ३ जनालाई मात्र संक्रमण सार्न सक्दछ । चीनको बुहानमा कोरोना संक्रमण पिकमा पुग्दा एक संक्रमितले औसतमा ५ जनालाई सारेको बताइएको थियो । केहि समयपछि बुहानमा एक संक्रमितले ४ जना, ३ जना हुँदै सार्ने डर घटेको थियो । तसर्थ एक जनाले हामीले कल्पना गरेजस्तो धेरै व्यक्तिलाई संक्रमण सार्न सक्दैन ।

नेपालमा संक्रमित अधिकांश विदेशबाट आएका व्यक्तिलाई देखिएको छ । लकडाउन, क्वारेन्टाइन आदिको कारण उनीहरु समुदायमा निस्किन पाएनन् कोरोना भाइरस मान्छेलाई लाग्ने बित्तिकै र १५ दिनभित्र जति अरुलाई संक्रमण सार्न सक्छ, १५ दिनपछि सार्ने क्षमता घट्दै जान्छ । त्यसैले बाहिरबाट आएका व्यक्तिहरुबाट स्थानीयमा त्यति धेरै सर्न पाएको छैन ।

संक्रमित मध्ये ८५ प्रतिशत लाई आफै निको हुने र १५ प्रतिशतमा गम्भीर लक्षण देखिने, ८-१० प्रतिशतलाई आइसीयु/भेन्टिलेटर चाहिने, ३ प्रतिशतको मृत्यु हुने विश्वव्यापी तथ्यांक तथा दावि नेपालमा लागु भएको छैन । यहाँ ९० प्रतिशतलाई लक्षण देखिएको छैन । १० प्रतिशतलाई हल्का देखिएको थियो । आइसीयु, भेन्टिलेटर र मृत्यु अरु देशमा जस्तो यहाँ आबश्यक भएको छैन ।

अन्य देशमा मलेरिया, एचआइभी, इबोला, जापानिज इन्फ्लुएन्जा आदिमा प्रयोग गरिने औषधि चलाइरहेका छन् । हामी कहाँ ती औषधि चलाउनु परेको छैन । सामान्य पारासिटामोल, खोकीको औषधि, सास फेर्न सजिलाे हुने औषधि र २-३ हप्ता अस्पताल बसेर निको भएका छन् ।

अन्य देशमा जनसंख्या धेरै भएका सहरमा हजारौं/लाखौँ संक्रमित भएका छन् । तर नेपालमा जनसंख्या धेरै भएका शहरमाभन्दा सिमाबर्ती क्षेत्रमा संक्रमित धेरै छन् । बोर्डर १०० प्रतिशत शिल गर्ने हो भने हाम्रो आन्तरिक अवस्था बलियो छ । तसर्थ कोरोना संक्रमणको कारण हामी आत्तिनु पर्दैन ।

सामाजिक दुरी कायम गर्ने हो भने हामी अझै सुरक्षित हुन्छौं । अर्को कुरा संक्रमित पत्ता लाग्नु राम्रो कुरा हो । परीक्षण जति बढायो, संक्रमित पता लाग्ने अनि उनीहरुलाई आइसोलेसनमा राख्ने अवसर मिल्छ । उनीहरुले समुदायलाई रोग सार्न पाउँदैनन् । सरकारले पिसिआर परीक्षण ब्यापक रुपमा गर्नु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *