नारायणकाजीको प्रश्न : पार्टीमा रडाको मच्चाउन को लाग्दैछ ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकको निष्कर्षबाट कोही विचलित हुन नहुने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता श्रेष्ठले पार्टीमा फेरि झुटा प्रचार हुन थालेको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन्।

पार्टी एकताको रक्षा गर्दै कमजोरीहरू सच्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएको बेला फेरि सचिवालय बैठकको निर्णयप्रति भ्रामक समाचार प्रसारित हुन थालेको उनको आरोप छ। प्रवक्ता श्रेष्ठले पार्टीमा रडाको मच्चाउने योजनामा कोही सक्रिय भएको उल्लेख गर्दै त्यसप्रति सचेत हुन आग्रह पनि गरेका छन्।

‘हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरीहरूलाई सच्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछि हिजोदेखि फेरि झुटा भ्रमात्मक समाचारहरू प्रचारित हुन थालेका छन्, पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? सचेत होऔं। २० गतेको सचिवालय बैठकको निष्कर्ष लागू गरौँ। अन्यथा नगरौं।’ उनले ट्विटरमा लेखेका छन्।

पछिल्लो समय नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो। गत शनिवार बसेको सचिवालय बैठकले त्यसलाई केही हदसम्म मत्थर बनाएको छ। तर, नेताहरू अझै गुटगत भेलामा व्यस्त छन्। अझै आन्तरिक विवाद साम्य नभएको कतिपय नेताहरूको निष्कर्ष छ।

सोही विषयतिर लक्षित गरी प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘अस्तिको सचिवालयको निष्कर्षबाट विचलनले पार्टीमा पुनः संकट ल्याउनेछ। अतः अन्यथा हुनै सक्दैन, गर्नै मिल्दैन। पार्टी एकताको रक्षा, विधि पद्धतिको पालना, पार्टीद्वारा सरकार सञ्चालन, सरकारबाट समाजवाद उन्मुख समृद्धिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने संकल्प यो हो निष्कर्ष।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *