प्लटिङ जग्गामा विपन्नका लागि सामुहिक खेती

  • ध्रुवराज खनाल

चितवन । चितवनको रत्ननगर नगरपालिकामा वाँझो रहेका प्लटिङ तथा ऐलानी जग्गा धमाधम जोतेर उत्पादनमा प्रयोग गर्ने कार्यलाई तीव्र पारेको छ ।

हालको जारी लकडाउनका कारण देखिएको खाद्य अभावलाई मध्यनजर गर्दै त्यस्ता जग्गामा खेती सुरु गरिएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बताए । दैनिक रुपमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेकालाई समुह बनाएर उत्पादन कार्यमा संलग्न गराइएको मेयर वनको भनाइ छ ।

‘लकडाउनका कारण अहिले समस्या भोग्नु परेको छ । ज्याला मजदुरी गरेर दैनिक गुजारा गर्नेहरुलाई सामुहिक खेतीमा लगाईएको छ । त्यही उत्पादन उनीहरुले उपभोग गर्नेछन्’, मेयर वनले भने ।

रत्ननगरको वडा नम्वर १४ मा प्लटिङ जग्गा अत्याधिक छन् । नगरको उत्तर क्षेत्र आवासका लागि उपयुक्त क्षेत्र हो । तर वर्षौदेखि प्लटिङ गरेर यहाँको जग्गा ओगटिएको छ । रत्ननगर १४ मा करिव ३० विगाहा त्यस्ता जग्गा जोतेर सामुहिक खेती सुरु गरिएको वडाध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।

समुह बनाएर जग्गा विभाजन गरिएको छ । खेतीका लागि नगर भित्रका करिव ३ सय परिवारलाई समेटेर ५० वटा समुह वनाईएको वडाध्यक्ष श्रेष्ठले बताए । सो वडाको बाँझो जग्गा जोत्ने काम सकिएको छ भने अब बीउ उपलब्ध गराएर उत्पादनको सुरुवात गरिने उनले बताए ।

प्लटिङ जग्गामा खेती गर्न जग्गा धनीसँग एक किसिमको सम्झौता समेत भएको छ । सो जग्गामा आवास निर्माण नहुन्जेल सम्म खेती गर्न दिईने वडाध्यक्ष श्रेष्ठको भनाई छ । आवास निर्माण गर्न चाहे बाली थन्काएर पछि मात्रै निर्माण कार्य सुरु गर्नु पर्नेछ । खेतीका लागि नगरपालिकाले निशुल्क रुपमा जग्गा उपलव्ध गराउनुका साथै जोत्नका लागि तेल खर्च, बीउ समेत प्रदान गर्ने मेयर नारायण वनले बताए ।

अन्य सबै सुविधा नगरले उपलव्ध गराउने र परिश्रम मात्रै आफ्नो पर्ने भएपछि समुहमा आबद्ध यस क्षेत्रका विपन्न परिवार भने हर्षित छन् । रत्ननगर नगरपालिकाले कोरोना संक्रमणपछि सरकारले जारी गरेको लकडाउनपछि विपन्न र ज्याला मजदुरी गर्नेहरुका लागि झण्डैं ८२ लाख रुपैयाँ बराबरको राहत वितरण गरिसकेको छ ।

बाँझो जग्गामा उत्पादन सुरु गरेको रत्ननगर नगरपालिकाले यसअघि जग्गा वाँझो राख्नेहरुलाई जरिवाना समेत तिराउँदै आएको थियो । नगरले जरिवना वापत २ लाख रुपैयाँ संकलन गरेको जनाएको छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *