केही चिकित्सकले सहयोग गर्छु भनेकाले वीपी प्रतिष्ठानलाई पत्र पठाइएको धरानका मेयरको भनाई

चैत्र २५, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर र कर्मचारीसँग तोकिएरै चन्दा मागेको विषयमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रष्टिकरण दिएका छन् । आज पत्रकार सम्मेलन गरेर उनले प्रतिष्ठानका केही पदाधिकारी र चिकित्सकले स्वेच्छाले राहत दिने भनेकाले पत्र पठाइएको बताएका छन् ।
मेयर तिलक राईले पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रतिनिधिहरूले स्वइच्छाले सहयोग गर्ने भनेपछि पत्र पठाइएको जिकिर गरेका हुन् । उनले स्वास्थ्यकर्मीहरुको कामलाई पूर्ण समर्थन र सहयोग रहने बताए ।
उपमहानगरपालिकाका मेयर राईले राहत संकलन गर्ने सन्दर्भमा प्रतिष्ठानका पदाधिकारीको १५ दिनको र कर्मचारीको १० दिनको तलब सहयोग गर्न आफैंले हस्ताक्षर गरेर पत्र पठाएका थिए ।

सो विषयमा नगरउपप्रमुख मञ्जु भण्डारीले वीपी प्रतिष्ठानका पदाधिकारी, चिकित्सक तथा कर्मचारीसँग चन्दा माग गर्ने निर्णय उपमहानगरपालिकाले नगरेको बताइसकेकी छिन् ।








