‘लकडाउन’को १६ औँ दिन सौराहामा एक नजर (फोटो फिचर)


चैत्र २६, चिवन। देशकै तेस्रो पर्यटकीय गन्तव्य हो चितवनको सौराहा। प्रकृतिसँग नजिक हुन चाहने जो कोहिलाई सौराहाले तान्छ। सौराहा आउनुको मुख्य उदेश्य भनेको निकुञ्ज भ्रमण गर्नु पनि हो। त्यस माथि गैंडा हेर्ने धोको सबैको हुन्छ।
निकुञ्ज भ्रमण विभिन्न माध्यमबाट गर्न सकिन्छ। सबै भन्दा लोकप्रिय माध्यम हात्ती सफारी हो। एउटा हात्तीमा चार जनासम्म बस्न सकिन्छ। हात्तीबाट जनवार राम्रो र सुरक्षितसँग देख्न सकिन्छ। त्यसकारण पनि सौराहमा स्वदेशी तथा विदेशी पर्यटकको चाप प्राय भइरहन्छ।
तर पछिल्लो समय विश्वले कोरोना भाइरसको सामना गरिरहेको छ। जसको प्रभाव विश्वका हर भूभागमा परेको छ। नेपालमा पनि कोरोना संक्रमणको जोखिम कम गर्न लकडाउन गरिएको छ। सरकारले लकडाउनलाई तेस्रो पटक समय थपेर वैशाख ३ सम्म लम्ब्याएको छ। यसको प्रत्यक्ष मारमा सौराहाको पर्यटन व्यवसायमा पनि परेको छ। अर्वौंको लगानीमा अहिले जोखिममा छ।
विदेश र स्वदेशी पर्यटकले भरिभराउ हुने सौराहामा अहिले स्थानीयलाई समेत भेट्न मुस्किल छ। लकडाउन भएपछि होटेल, रेस्टुरेन्ट, अन्य पसल सबै बन्द छन्। पर्यटकको चाप रहने पप साइडमा रहेका कुर्चीले पर्यटकलाई कुरेर बसिरहेका छन्। व्यवसायीहरूले होटेल, रेस्टुरेन्ट कुर्नका लागि एक दुई जना कर्मचारी राखेका छन् भने अरूलाई बिदा दिइएको छ।
स्वयम होटेल, रेस्टुरेन्ट सञ्चालकहरू समेत यहाँ भेट्न मुस्किल छ। लकडाउनको १६ औँ दिन सुनसान सौराहामा जे देखियो, त्यो क्यामेरामा कैद गर्ने प्रयास गरेका छौं।
