पाँच पूर्वप्रधानमन्त्रीलाई देउवाको फोन, के भयो कुराकानी ?


चैत्र २३, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै जाँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीहरुसँग टेलिफोनवार्ता गरेका छन् ।
सभापति देउवाले पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, डाक्टर बाबुराम भट्टराई, खिलराज रेग्मीसँग टेलिफोनमा कुराकानी गरेका हुन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यसबारे जानकारी दिएका हुन् । उनले अहिलेको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपील गरेको जनाएका छन्।
‘पूर्व प्रधानमन्त्री मित्रहरू लोकेन्द्रबहादुर चन्द, पुस्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मीसँग आज टेलिफोनमा संवाद गरेँ । आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं, अपील गरेको छु ।’
सभापति देउवाले कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै परीक्षणको दायरा वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमित मध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने बाँकीको उपचार चलिरहेको छ ।
