नेपालभित्रै कोरोना सरेको पहिलो घटना

चैत्र २२, काठमाडौं। नेपालभित्रै पहिलो पटक कोरोना संक्रमित एक व्यक्तिबाट अर्को एक जनामा कोरोना सरेको पुष्टि भएको छ। शनिबार कैलालीमा ३४ वर्षीया महिलालाई कोरोना संक्रमण सरेको पुष्टि भएको हो।   

दुवईबाट भारत हुँदै नेपाल फर्किएका संक्रमित युवकका आफन्तमा कोरोना भाइरस सरेको पुष्टि भएको छ। चैत ७ गते नेपाल आएका युवकमा कोरोना संक्रमण देखिएको थियो। उनी विदेशबाट आएर घर बसेका थिए। शनिबार कोरोना संक्रमण देखिएकी ३४ वर्षीया महिला ति युवककी आफन्त हुन्।  

दुवईबाट नेपाल फर्किएका ति युवक कोरोनाको आशंकामा चैत ११ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा भर्ना भएका थिए। उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो। उनको अहिले उपचार भइरहेको छ। यसअघि नेपालमा देखिएको ६ वटा संक्रमण विदेशबाट आएकाहरुमा मात्र देखिएका थिए। शनिबार कैलालीमा कोरोना संक्रमण देखिएका तीन मध्ये दुई जना पनि भारतबाट आएका हुन्। त्यसमध्ये एक स्थानीय महिलामा कोरोना सरेको पुष्टि भएको मन्त्रालयले जनाएको छ।   

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘चौथो संक्रमित विदेशबाट आएर घर बसेका थिए। ज्वरो आउने लगायतका समस्या देखिएपछि अस्पताल गएका थिए। अहिले उनकै आफन्तलाई संक्रमण देखिनु भनेको कोरोना संक्रमणको लोकल ट्रान्समिसन हो।’ 

कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो। त्यसैले नेपालका लागि यो साता निकै महत्वपूर्ण हुने मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्कीले बताए। ‘विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकलअनुसार यसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिन्छ,’ उनले अघि भने, ‘यदि छरछिमेकलाई पनि संक्रमण भएको रहेछ भने त्यसलाई कम्युनिटी (समुदाय) ट्रान्समिसन भनिन्छ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =