प्रदेश १ का चिकित्सकद्वारा पीपीई अस्वीकार

काठमाडौं । प्रदेश १ का चिकित्सकले स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट(पीपीई) अस्वीकार गरेका छन् । मन्त्रालयले प्रदेश १ मा पठाएको एक हजार भन्दा बढी थान पीपीई कोरोनाको जोखिमबाट बच्न उपयुक्त नभएको भन्दै चिकित्सकहरुले अस्वीकार गरेका हुन् ।
‘पीपीई खोलेर हेर्दा हामी छक्क पर्यौं, त्यसमा एउटा गाउन मात्रै थियो, त्यसले भाइरस छेक्दैन, पीपीई भनेको सिंगै सेटलाई नै बुझ्नुपर्ने हुन्छ, जसमा तलदेखि माथिसम्म ढाक्ने वाटरप्रुफ गाउन, अनुहार छेक्ने फेस सिल्ड, एन ९५ मास्क, बुट, बुट कभर, गगल्स र दुई तीन सेट पञ्जासमेत हुनुपर्छ, अनि बल्ल त्यसलाई एक सेट पीपीई मान्न सकिन्छ ।’ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक चिकित्सकले भने ।
चिकित्सकहरुले पीपीई गुणस्तरीय नभएको भन्दै आपत्ति जनाएपछि प्रदेश १ सरकारले अस्पतालहरुमा यसको वितरण कार्य रोकेको छ । यो पीपीई संघमै फिर्ता पठाउने या के गर्ने भन्नेबारे प्रदेश १ को सरकारले निर्णय गरिसकेको छैन।

यस्तै, चीनबाट मेडिकल सामग्री खरीद गर्नका लागि सरकारले गरेको ठेक्का सम्झौता पनि रद्द भएको छ ।
सरकारले चीनबाट ल्याइएको पीपीई सातै प्रदेशमा ११ हजार ७७ थान पठाएको छ ।
प्रदेश १ मा १६१९, प्रदेश २ मा १२३१ थान, प्रदेश ३ मा २६२५ थान (काठमाडौं उपत्याका बाहेक), गण्डकी प्रदेशमा १६६६ थान, प्रदेश ५ मा १४०८ थान, कर्णाली प्रदेशमा १२३७ थान र सुदूरपश्चिम प्रदेशमा १२९१ थान गरी कुल ११०७७ थान पीपीई देशैभरि पुर्याइएको थियो ।








