लकडाउनः समस्यामा परेका विद्यार्थीलाई स्ववियू सचिव पराजुलीले सहयोग गर्ने

चैत्र १९, पथरी । पथरी बहुमुखी क्याम्पसका स्ववियु सचिव तथा नेपाली कांग्रेसका नेता रोशन पराजुलीले सो क्याम्पसमा अध्ययनरत डेरा गरी बस्ने विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गर्ने भएका छन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्नका लागि मुलुकभर गरिएको लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै सचिव पराजुलीले खाद्यान्न सहयोग गर्ने घोषणा गरेका हुन् ।
पथरीशनिश्चरे नगरपालिकासँग समन्वय गरि पथरीशनिश्चरे बाहिरबाट आएर अध्ययन गर्ने विध्यार्थीहरुलाई डेरामै गएर खाद्यान्न वितरण गरिने उनको भनाइ छ ।

‘यो महामारीको समयमा आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराउने र घरधनीसँग भेटि भाडा छुट गराउन पहल गर्छु’, उनले भने ।
पथरी क्याम्पसमा पूर्वका विभिन्न जिल्ला ताप्लेजुङ, ईलाम, भोजपुर, खोटाङ धनकुटा, भोजपुर लगायत विभिन्न जिल्लाका विध्यार्थीहरु डेरा बसी अध्ययन गरिरहेका छन् । लकडाउनका कारण उनीहरु घर जान पाएका छैनन् ।
लकडाउन लम्बिएसँगै विद्यार्थीबाट खाद्यान्न अभाव भएको जानकारी पाएपछि विद्यार्थीहरूलाई चामल, तेल, दाल, नुन, ग्यास र दैनिक प्रयोग गरिने औषधी लगायत अत्यावश्यक खाद्य सामाग्रीहरू राहत स्वरूप तत्काल उपलब्ध गराइने पराजुली बताउँछन् ।
राहत आवश्यक पर्ने केही विद्यार्थी सम्पर्कमा आएको र अप्ठ्यारोमा परेकाहरुलाई सामाजिक सञ्जाल तथा टेलिफोनमार्फत् सम्पर्कमा आउन उनले आग्रह समेत गरेका छन् ।








