नेपाल कोरोना संक्रमणको दोस्रो चरणमाः स्वास्थ्य मन्त्रालय

चैत्र २२, काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संक्रमित ९ जना मध्ये ८ जना उपचारका क्रममा रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।   

उनले शनिबार सुदूरपश्चिम प्रदेशमा तीन जनामा कोरोना संक्रमण देखिएको समेत जानकारी गराए। जसमध्ये दुई जना भारतबाट फर्किएका र एक जना यसअघि कोरोना संक्रमण देखिएका युवकको परिवारका सदस्य रहेको उनले बताए।   

उनीहरुको केही दिनअघि स्वाब लिएकोमा शुक्रबार गरिएको परीक्षणका क्रममा कोरोना सङ्क्रमण देखिएको डा. देवकोटाले भने। तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। 

यसअघि विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को सङ्क्रमण देखिएपनि पहिलोपटक नेपालभित्र एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको हो। कोरोना संक्रमित व्यक्तिबाट परिवारको सदस्यमा कोरोना सरेको देखिएकोले नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको उनले बताए। 

‘यो पहिलो केस हो। अब हामी दोस्रो चरणमा प्रवेश गरेको देखिन्छ। यो संक्रमित व्यक्तिबाट परिवारको सदस्यमा संक्रमण गएको देखिन्छ। यसलाई हामी लोकल टान्समिसन भन्छौ। संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केस हो नेपालमा। र यसले पनि थप पुष्ट्याई के गर्छ भन्दा क्वारेन्टाईनमा कति अनिवार्य रुपमा र कति सावधानीपुर्वक बस्नुपर्छ भन्ने कुरा देखाउँछ’ देवकोटाले भने। 

सरकारले घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउन सबैलाई पुनः आग्रह गरेको छ । १४ दिन क्वारेन्टाइनमा बसिसकेकाहरुलाई पनि अझै केही दिन क्वारेन्टाइनमा बसिदिन सरकारले आग्रह गरेको छ । 

सुदूरपश्चिमका थप तीन जना नेपालीमा कोरोना संक्रमण देखिएको र यो संक्रमण नेपालभित्रै रहेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइएकाले लकडाउनलाई अझै कडाइका साथ पालना गर्न सरकारले आग्रह गरेको छ। सरकारले घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउन सबैलाई पुनः आग्रह गरेको छ।   

१४ दिन क्वारेन्टाइनमा बसिसकेकाहरुलाई पनि अझै केही दिन क्वारेन्टाइनमा बसिदिन सरकारले आग्रहसमेत गरेको छ। डा. देवकोटाले भने, ‘अहिले १४ दिन क्रस गर्दाखेरि पनि पुनः परीक्षण गर्दा केहीलाई पोजेटिभ देखिएको छ। त्यो हिसाबले हेर्दाखेरि क्वारेन्टाइनको अवधि बढ्ने देखिन्छ। यहाँहरु क्वारेन्टाइनमै बसिदिनुहोला।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *