‘वीपी प्रतिष्ठानका पदाधिकारी, चिकित्सक र कर्मचारीबाट चन्दा माग्ने निर्णय नगरले गरेको छैन’ धरानका उपमेयर भण्डारी

चैत्र २५, धरान । उपमहानगरपालिकाद्वारा वीपीका पदाधिकारीको १५ दिन र डाक्टर कर्मचारीको १० दिनको तलब मागेको विषयमा उपमहानगरपालिका भित्र छलफलै नगरी मेयरले एकलौटी पत्र पठाएको बुझिएको छ । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले नगरपालिकाको बैठकले वीपी प्रतिष्ठानका पदाधिकारी, चिकित्सक र कर्मचारीबाट कुनैपनि सहयोग माग्ने निर्णय नभएको बताइन् ।
नगरभित्रका करिब १२ हजार विपन्न नागरिकले उपमहानगरपालिकामा राहत दिन अनुरोध गरेपछि राहतको स्रोत पहिल्याउने सन्दर्भमा मेयर तिलक राईले वीपी प्रतिष्ठानलाई पत्र पठाएको हुन सक्ने उपमेयर भण्डारीको भनाई छ । ‘१२ हजार विपन्नको नाम आएको छ । उनीहरुलाई कसरी राहत उपलब्ध गराउने सन्दर्भमा स्रोत खोज्ने क्रममा वीपी प्रतिष्ठानमा पनि पत्र पठाइएको हुनसक्छ ।’ उपमेयर मण्डारीले भनिन् ।
अनी यसरी तलबको प्रतिशत नै तोकेर माग गर्न मिल्ला त ? भन्ने प्रश्नमा उपमेयर भण्डारीले मेयरबाट कमजोरी भएको स्विकार गर्दै भनिन् । ‘त्यसरी रकम नै तोकेर सहयोग माग्न त नहुने हो । आग्रह त गर्न सकिन्छ नी, दिने नदिने वीपी प्रतिष्ठानको कुरा हो ।’ उनले जवरजस्ती चाहीँ नगरेको जिकिर गरिन् । उपमहानगरपालिकाले कोष खडा गरेर राहत संकलन गरिएको जनाउँदै स्वइच्छाले कसैले सहयोग गर्न सक्ने बताइन् ।

तर, प्रतिष्ठान स्रोतका अनुसार उपमहानगरपालिकाले वीपी प्रतिष्ठानका पदाधिकारीलाई कुनैपनि हालतमा सहयोग चाहियो भन्दै दवाव दिइरहेका छन् । खासगरी सत्तारुढ नेकपाले प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. गुरु खनाललाई उपकुलपति नियुक्तिमा सहयोग गरेको भन्दै अब त्यसको बदलामा सहयोग गर्न दवाव दिइएकाे हाे ।
‘उपकुलपति नियुक्तिमा नेकपा धरानले नामै तोकेर डा. गुरु खनालको नाम स्वास्थ्यमन्त्री कहाँ सिफारिस गरेको थियो, त्यसैको बदला अहिले यत्रो ठूलो चन्दा मागिएको हो ।’ वीपी प्रतिष्ठानका एक माथिल्लो तहका कर्मचारीले भने । धरान उपपमहानगरपालिकाका मेयरले कसैलाई नसोधी वीपी प्रतिष्ठान लगायत अन्य संघसंस्थाहरुलाई निश्चित प्रतिशत तोकेरै राहत माग गरेपछि धरानमा मेयरको चर्को आलोचना भइरहेको छ । गएको उपनिर्वाचनमा नेकपामै उम्मेद्वारलाई पराजित गर्दै नेपाली कांग्रेसबाट जित हासिल गरी मेयर भएका राईले कतिपय निर्णयहरु एकलौटी गर्न थालेपछि नगरपरिषद्भित्र चर्को असन्तुष्ठि पैदा भएको छ ।
यसैविच नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले पनि धरान उपमहानगरपालिकाको कार्यशैली प्रति असन्तुष्ठि जनाउँदै वीपी प्रतिष्ठानलाई पठाइएको पत्र सच्याउन भनेका छन् । उनले युद्ध मैदानमा रहेका सिपाही भन्दा खतरा एवं त्रासदीपुर्ण अवस्थामा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको थप सुरक्षा तथा उचित विमाको लागि स्थानीय सरकार वा जनप्रतिनिधिमुलक निकायले माग गर्नुपर्नेमा धरान उपमहानगरपालिकाले उल्दै चन्दा मागेर चिकित्सक, कर्मचारीलाई हतोत्साहित गरेको जिकिर गरेका छन् ।
मेयर तिलक राईले हस्ताक्षर गरेको पत्र सोमबार दिउँसो बाहिरिएपछि उनको कार्यशैलीप्रति आलोचना भइरहेको छ । कोरोना रोकथामका लागि संघिय सरकारबाट लकडाउन गर्दा धरान प्रभावित भएको र आवागमनका कारण दैनिक ज्याला मजदुरी गरिखाने अति विपन्न परीवारलाई खाद्यान्नको समस्या हुने भएकोले नगरपालिकाले राहत जम्मा गर्न कोषको ब्यवस्था गरेकोले सो कोषमा प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारीको तलबको १० प्रतिशत र पदाधिकारीको १५ प्रतिशत तलब उपलब्ध गराउन माग गरिएको छ ।
यता प्रतिष्ठानका केही चिकित्सक कर्मचारीहरुले भने प्रतिष्ठान आफैंले कोष खडा गरेर प्रतिष्ठानबाटै राहत संकलन गरे दिन सक्ने बताएका छन् ।
हेर्नुहाेस धरान उपमहानगरपालिकाले वीपी प्रतिष्ठानमा पठाएकाे पत्र








