बेरोजगार र विपन्नहरुले खान पाए/पाएनन्, त्यसको अनुगमन हुन्छः प्रधानमन्त्री

चैत्र २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगार र विपन्नहरुले खान पाए/पाएनन्, त्यसको अनुगमन हुने बताएका छन् ।
मंगलबार बिहान ११ बजे देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । स्थानीय तहका वडास्तरसम्म वडाध्यक्षको संयोजनमा हुने संयन्त्रले आफ्नो वडामा सरकारद्वारा घोषित राहत वितरण गर्ने उनको भनाइ छ ।
‘सरकारले बिरामी छन्छै/नन्, औषधि–उपचार पाए/पाएनन्, बेरोजगार विपन्नहरुले खान पाए/पाएनन् त्यसको अनुगमन तथा व्यवस्थापन गर्नेछ’, प्रधानमन्त्रीले भने ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले समग्र कामको अगुवाइ गरिरहेको र यसका अतिरिक्त, आम जनसमुदाय, राजनीतिककर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीहरुको संयुक्त ‘कमाण्ड’को रुपमा ‘कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) स्थापना गरिएको उनले स्मरण गराए ।
यसले युद्धस्तरमा कामको समन्वय, निर्देशन र सम्पादन गर्ने उनले बताए । पहिचान गर्ने, परीक्षण गर्ने र उपचार गर्ने सबै कामलाई समन्वयात्मक ढंगले सम्पादन गर्न यसका ४ संरचना (अप्स) खडा गरिएको पनि उनले जानकारी दिए ।








