काठमाडौं जिल्ला प्रशासन कार्यालयले रोक्यो सवारी पास वितरण

वैशाख ३, काठमाडौं। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अति जरुरी बाहेक अन्य कार्यका लागि सवारी पास वितरण नगर्ने जनाएको छ। प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार अब मृत्यु संस्कारमा सहभागी हुने बाहेक सवारी पास नदिने जनाएको हो।
सवारी पासको अत्याधिक माग भएको र यसले भीडभाड हुन गई लकडाउन उलङघन हुने खतरा बढेपछि सवारी पास वितरण रोक्न लागेको कार्यालयले जनाएको हो। प्रशासनले लकडाउनमा अत्यावश्यकीय सवारी साधन सञ्चालनका लागि पास वितरण गर्दै आएको थियो।
गृह मन्त्रालयले मंगलबारदेखि अनलाइनमार्फत ई–पास लिन सक्ने व्यवस्था गरेपछि अत्याधिक माग बढेको र यसले लकडाउनको उलङघन हुनसक्ने भन्दै मृत्यु संस्कारमा सहभागि हुन बाहेकका लागि पास वितरण नगर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेका पास हालका लागि बन्द गरिएको बताए। उनले जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयबाट जारीहुने ई -पास समेत अति आवश्यक बहेकलाई नदिने स्पष्ट पारे।








