कोरोनाको संक्रमण हुन नदिन खैरहनीमा थप सतर्कता

   

वैशाख ६, चितवन। छिमेकी राप्ती नगरपालिका ८ का दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएपछि खैरहनी नगरपालिकाले थप सतर्कता अपनाएको छ। मन्दिर, मस्जिद, गुम्बा, चर्चहरूमा आवतजावत र पूजापाठ गर्न यसअघि नै रोक लगाइएको छ।   

खैरहनी नगरस्तरीय राहत व्यवस्थापन तथा समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख लालमणि चौधरीको अध्यक्षतामा शनिबार बसेको सर्वपक्षीय बैठकले मन्दिर, मस्जिद, गुम्बा र चर्चहरूमा थप निगरानी बढाउन इलाका प्रहरी कार्यालय खैरहनीलाई अनुरोध समेत गरेको छ। केही दिन अघि प्रहरीले चर्च बन्द गरेर घर गोठमा प्राथना गरिरहेको अवस्थामा केहीलाई नियन्त्रणमा लिएको थियो।   

त्यस्ता ठाउँमा अब पूर्णरूपमा बन्देज गरी थप निगरानी बढाइने भएको हो। आकस्मिक बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन एम्वुलेन्सलाई तयारी अवस्थामा राख्ने, कुनै चालकले अटेरी गरे, झुटो विवरण दिए वा ढाँट्ने काम गरे त्यस्तालाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले जानकारी दिए।   

बैठकले र्‍यापिड टेष्टका लागि थप किट माग गर्ने निर्णय समेत गरेको छ। स्वास्थ्य कार्यालयसँग माग गर्ने र त्यहाँबाट प्राप्त हुन नसके नगरपालिकाले खरिद गर्ने व्यवस्था मिलाउने निर्णय भएको हो। नगरपालिकाको विभिन्न स्थानमा स्थानीय व्यक्तिहरूले सवारी साधनलाई आवतजावतमा रोक लगाउन ढुंगामुडा, ह्युमपाईप, बाँस राखी बाटो अवरोध गरेको पाइएकाले त्यस्ता कार्यलाई पूर्णरूपमा निरुत्साहित गर्ने निर्णय पनि बैठकले गरेको छ।   

बैठकमा दोस्रो चरणमा वितरण हुने राहतका विषयमा समेत छलफल भएको थियो। दोस्रो चरणको राहत वितरण यथाशक्य छिटो गर्ने, वितरणका क्रममा फोटो खिच्ने, सामाजिक सञ्जालमा राख्ने जस्ता कार्यलाई रोक लगाउने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले बताए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =