कोरोनाको महामारीका बेला अस्पताल नआउने पाँच डाक्टरको जागिर चैट !

चैत्र २६, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका पाँच जना डाक्टर बर्खास्तीमा परेका छन् ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना महामारीको बेलामा सेवामा नखटिने चिकित्सकहरूलाई कारबाही गर्न निर्देशन दिएपछि अस्पतालले पाँच डाक्टरलाई बर्खास्त गरेको हो ।
अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई बर्खास्त गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राजेन्द्र खनालले जानकारी दिए ।

सामाजिक विकास मन्त्री सुदर्शन बराल ज्यूले तत्काल बर्खास्त गर्न निर्देशन दिएपछि सेवाबाट हटाइएको उनको भनाइ छ ।
नेपालमा पनि कोरोना संक्रमणका बिरामी भेटिन थालेपछि ती पाँच चिकित्सकहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा उनुपस्थित थिए ।
नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने बाँकी ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्थामा सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले कोरोनाको महामारी चलिरहेका बेला उपचारमा संलग्न नहुने चिकित्सकहरुलाई कारवाही गर्ने चेतावनी दिँदै आएको छ ।








