ताली बजाएर कोरोना निको हुँदैनः राहुल गान्धी

चैत्र २३, काठमाडौं। कोरोना भाइरसविरुद्धको लडाइँमा जनतालाई उत्साहित पार्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति ९ बजे बत्ती निभाएर दियो बाल्ने आह्वान गरेपछि विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले त्यसमाथि व्यंग्य गरेका छन्।   

उनले भने, ‘भारतमा कोरोनाको पर्याप्त जाँच गरिएको छैन। मानिसलाई ताली बजाउन र दियो बाल्न लगाएर समस्याको समाधान हुँदैन।’ राहुल गान्धीले आँकडाहरू प्रस्तुत गर्दै प्रति दश लाख मानिसको स्वास्थ्य जाँचका विषयमा भारत अहिले पाकिस्तानभन्दा पनि पछि रहेको बताए।   

‘भारतमा कोरोना जाँच नै कम गरिएको छ किनकि प्रधानमन्त्रीलाई यस्तो वास्तै छैन,’ उनले भने। शनिवारसम्म भारतमा ७० हजार स्याम्पलको कोरोना जाँच गरिएको छ। आगामी दिनमा जाँचको गति बढाइने सम्भावना छ।   

भारतमा कोरोना जाँचको नोडल एजेन्सी आईसीएमआरले देशमा पर्याप्त जाँच गरिएको बताए। विदेशबाट फर्केकाहरूलाई स्वास्थ्य जाँचमा प्राथमिकता दिइएको र कोरोनाका लक्षण पाइएकालाई विशेष निगरानीमा राखिएको जानकारी पनि उसले दियो। भारतमा लकडाउन समयमै लगाइएको र संक्रमण प्रभावित देशबाट आउने यात्रीलाई समयमै रोकिएको पनि उसले बतायो।   

कोरोना संक्रमणको हटस्पट इलाकामा गहन स्वास्थ्य परीक्षण प्रक्रिया शुरू गरिएको पनि उसले जानकारी दिएको छ। -एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *