लकडाउनको २१ औं दिन विराटनगरको अवस्था … (फोटो फिचर)

वैशाख २, विराटनगर । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको आज २१ औैँ दिन हो । कोरोनाको त्राससँगैको लकडाउनले मूलुक ठप्प परिरहेको अवस्थामा कोरोना संक्रमितको संख्या बढ्दा सरकारले फेरी बैशाख १५ गतेसम्मका लागि लकडाउनको अवधि थप गरेको छ ।
विराटनगरमा पनि लकडाउनको असर निकै परेको छ । कोरोना त्रास र लकडाउनको कष्टकर जीवनशैलीका साथ मानिसहरु अत्यावश्यक कामले मात्रै बाहिर निस्किरहेका छन् । गद्रि बजार क्षेत्र साथै भाटभाटेनी सुपर मार्केटमा उपभोक्ताको भिड निकै देख्न सकिन्छ ।

यो समय बिहान काम गरेर साँझ भोको पेट भर्ने दैनिक ज्याला मजदुरी गर्ने साथै सडकमा नै जीवन व्यतित गर्नेहरुका लागि दैनिक जिउने जीवनशैली भने सकस बन्दै गएको छ ।
विराटनगरस्थित महेन्द्र चौक, बरगाछी, चौक हुँदै पुरानो गुद्रि बजालाई नियालेर हेर्दा दैनिक उपभोगका सामानहरु खरिद गर्न मानिसहरु बाहिरिएका छन् । यस्तो भाइरसको त्रास फैलिइरहेको अवस्थामा सडकमा नै दैनिकी गुजारा गरिरहेका मानिसहरुले भने भाईरस संक्रमणको जोखिबाट सतर्कता अपनाउनका लागि मास्क समेत लगाएका छैनन् ।
ट्राफिक चौकमा भेटिएका विष्णु यादव (नाम परिवर्तन) लाई कोरोनाको त्रास भन्दा पनि खालि पेट कसरी भर्ने भन्ने त्रासले सताएको बताउँछन् । उनी पोखरीयदेखि दुध बिक्री गर्दै विराटनगर बजार चाहार्छन् । उनी भन्छन्, ‘घर बसौं नानीबावुहरु भोकै हुन्छ, लकडाउनले देशको अर्थतन्त्र नै डाउनमा छ सरकारसँग पनि के अपेक्षा राख्नु ?’








